Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा बसेर सुनको अवैध कारोबार गर्दै आएका चिनियाँ नागरिकले अमेरिकामा बस्ने एक व्यक्तिको घर भाडामा लिएर कारोबार सञ्चालन गरेको खुलेको छ।
प्रहरी स्रोतका अनुसार चिनियाँ नागरिकहरूले विष्ट थरका घरधनीको घर गत साउनदेखि भाडामा लिएका थिए। उक्त घरको मासिक भाडा ३ लाख ३० हजार रुपैयाँ तय गरिएको थियो। उनीहरूले घरभाडाबापत चार महिनाको रकम अग्रिम भुक्तानी गरेको खुलेको प्रहरी स्रोतले जनाएको छ।
सुनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बिहीबार उक्त घरमा छापा मारेको थियो। छापा मार्ने क्रममा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार घरबाट करिब २१ किलो ७५०.६८ ग्राम सुन तथा सुन प्रशोधन र कारोबारमा प्रयोग हुने विभिन्न मेसिन तथा उपकरण बरामद गरिएको छ।
प्रहरी स्रोतका अनुसार चिनियाँ समूहका एक सदस्य सुरुमा नेपाल आएर यहाँको बजार र कारोबारको अवस्थाबारे जानकारी लिएका थिए। त्यसपछि उनी चीन फर्किएका थिए। उनी फर्किएपछि समूहका अन्य दुई सदस्य पनि नेपाल आएका थिए।
नेपाल आएपछि पनि उनीहरू तीन–चार पटक विमानस्थलबाट आवतजावत गरेको देखिएको प्रहरी स्रोतले जनाएको छ। उनीहरूको नेपाल आगमन, आवतजावत र सुनको कारोबारबीचको सम्बन्धबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
बूढानीलकण्ठस्थित घर भाडामा लिएर सञ्चालन गरिएको भनिएको उक्त कारोबारमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषय अनुसन्धानपछि खुल्नेछ। प्रहरीले बरामद सुन, उपकरण र पक्राउ परेका व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान अघि बढाएको छ।
२०८३ आश्विन २३
ताजा नेपाल
२०८३ आश्विन २३
ताजा नेपाल
२०८३ आश्विन २३
ताजा नेपाल