Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नयाँ दिल्ली । भारतीय चर्चित युट्युबर तथा राजनीतिक टिप्पणीकार ध्रुव राठीलाई दिल्ली प्रहरीले शनिबार बिहान गुरुग्रामस्थित निवासबाट नियन्त्रणमा लिएको छ। दिल्लीको जन्तरमन्तरमा आयोजना हुन लागेको विरोध प्रदर्शनमा सहभागी हुन जाने क्रममा उनलाई गुरुग्रामको सेक्टर ५६ स्थित फ्ल्याटबाट नियन्त्रणमा लिइएको हो।
निर्वाचन नामावलीमा भएको भनिएको अनियमितताको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागसहित ककरोच जनता पार्टी (सीजेपी) ले दिल्लीमा प्रदर्शनको आह्वान गरेको थियो। प्रदर्शनलाई समर्थन गर्दै राठीले शुक्रबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरी आफू सहभागी हुने घोषणा गरेका थिए।
दिल्ली प्रहरीले सुरक्षा संवेदनशीलता र कानुनी प्रक्रियाको कारण देखाउँदै प्रदर्शनका लागि अनुमति दिएको थिएन। प्रहरीले प्रदर्शनमा सहभागी नहुन आग्रह गरे पनि राठीले अस्वीकार गरेपछि गुरुग्राम प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको र अज्ञात स्थानमा राखिएको बताइएको छ।
प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रिय राजधानी क्षेत्रमा ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको तथा जन्तरमन्तर आसपास भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ अन्तर्गत निषेधाज्ञा जारी गरिएको दाबी गरिएको छ।
सुरक्षाको कारण देखाउँदै दिल्लीका विभिन्न मेट्रो स्टेसन, रेल सेवा तथा प्रदर्शनस्थल आसपासका क्षेत्रमा मोबाइल इन्टरनेट सेवा पनि अस्थायी रूपमा बन्द गरिएको बताइएको छ।
सीजेपीले ध्रुव राठी र अन्य सामाजिक अभियन्तालाई नियन्त्रणमा लिइएको घटनाको विरोध गर्दै यसलाई सरकारको दमनकारी कदम भनेको छ। पार्टीले उनीहरूलाई तत्काल रिहा गर्न माग गरेको छ।
प्रहरीले प्रदर्शनस्थलतर्फ अघि बढ्न खोज्ने राठीसहित करिब १५० भन्दा बढी प्रदर्शनकारीलाई दिल्लीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाइएको छ।
जर्मनीबाट हालै भारत फर्किएका राठी यसअघि अक्टोबर ८ मा बेंगलुरुमा भएको सीजेपीको प्रदर्शनमा पनि सहभागी भएका थिए। सामाजिक सञ्जालमा करोडौँ फलोअर्स रहेका राठीलाई नियन्त्रणमा लिइएको खबर सार्वजनिक भएपछि यस विषयमा अनलाइनमा विरोध सुरु भएको बताइएको छ।
२०८३ आश्विन २५
ताजा नेपाल
२०८३ आश्विन २५
ताजा नेपाल
२०८३ आश्विन २५
ताजा नेपाल