Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष र निर्मम छानबिन गर्न माग गरेका छन्। आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्न सकिने उल्लेख गर्दै उनले जस्तोसुकै कानुनी सजाय भोग्न तयार रहेको बताएका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनारले आफूमाथि उठेका प्रश्नको जवाफदेहिता आफूले नै लिने भन्दै आफ्नो भनिएको गलत कामको जिम्मेवारी पार्टी र सरकारले लिनु नपर्ने बताएका छन्। उनले पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने छानबिनमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
‘ममाथि उठेको प्रश्नको सत्यतथ्य छानबिन होस्। आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस्,’ उनले लेखेका छन्, ‘मैले गरेको भनिएको पाप, अपराध प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु।’
सुनारले आफूमाथि आरोप लागे पनि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय एक महिलामाथि मिडिया ट्रायल, अतिरञ्जित प्रचार तथा अनावश्यक तस्बिर, अडियो र भिडियो जोडेर टिप्पणी गरिएको भन्दै आपत्ति जनाएका छन्। आफूलाई कारबाही गरिए स्वीकार्य हुने तर ती महिलामाथि भइरहेको भनिएको आक्रमण स्वीकार्य नहुने उनको भनाइ छ।
उनले विगतमा आफूबाट दुःख पाएको भन्ने भनाइ वा बुझाइका आधारमा महिलालाई सार्वजनिक रूपमा यसरी लखेट्नु उचित नभएको तर्क गरेका छन्। आफूबाट कुनै गल्ती भएको भए सम्बन्धित निकायले गोप्य रूपमा अनुसन्धान गरी कानुनी प्रक्रियामार्फत कारबाही गर्न सक्ने उनको भनाइ छ।
सुनारले ती महिलाले आफू अन्यायमा परेको भए आफैँ मुद्दा हाल्ने र आफ्नो जीवनबारे सचेत रहेको बताउँदासमेत प्रहरी प्रधान कार्यालय तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पटक-पटक भेट्न बोलाएको र मुद्दा हाल्न भनेको दाबी गरेका छन्।
उनका अनुसार त्यसक्रममा आफूहरू दुवै जनालाई एकैपटक सिध्याउने धम्की दिइएको थियो। उक्त धम्की आएको केही दिनपछि पछिल्लो घटनाक्रम सुरु भएको उनको दाबी छ।
‘प्रहरीको हेडक्वार्टर, सीआईबीले बारम्बार भेट्न बोलाएको र मुद्दा हाल्न भनेको थियो। तर, अन्याय भएको भए म आफैँ मुद्दा हाल्थेँ, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफपछि “अब तिमीहरू दुवै जनालाई एकै झट्कामा सिध्याउँछौँ” भन्ने धम्की दिएर फोन काटिएको थियो,’ उनले लेखेका छन्।
सुनारले आफूले कुनै विषयमा प्रश्न उठाएको वा मुद्दा अघि सारेको आधारमा आफूमाथि प्रश्न गर्न नपाइने भन्ने नरहेको पनि स्पष्ट पारेका छन्। तर, आफूमाथि लागेका आरोपको छानबिन गर्ने क्रममा सम्बन्धित महिलामाथि प्रहरी, राज्य, समाज र सञ्चारमाध्यमबाट दुर्व्यवहार हुनु आपत्तिजनक रहेको उनको भनाइ छ।
‘एक जिम्मेवार नागरिकको हैसियतले ममाथिका प्रत्येक आरोपको सत्यतथ्य छानबिन होस्। तर, उहाँ महिलामाथि प्रहरी, राज्य, समाज र मिडियाले गरेको दुर्व्यवहार आपत्तिजनक छ,’ उनले लेखेका छन्, ‘जे कारबाही हो, ममाथि होस्, मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन।’
सुनारले आफूमाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गर्न पुनः माग गर्दै दोषी ठहरिए कानुनअनुसारको सजाय भोग्न तयार रहेको बताएका छन्। साथै, आरोपको अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउँदा सम्बन्धित महिलाको सम्मान र अधिकारको पनि संरक्षण हुनुपर्नेमा उनले जोड दिएका छन्।
२०८३ आश्विन २९
ताजा नेपाल
२०८३ आश्विन २९
ताजा नेपाल
२०८३ आश्विन २९
ताजा नेपाल