Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देशको राजनीतिक, संवैधानिक र आर्थिक अवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्र अव्यवस्था र अन्योलबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

विजयादशमी २०८३ को शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राज्य प्रणालीको अवस्था, राजनीतिक नेतृत्वको भूमिका र देशको भविष्यबारे प्रश्न उठाएका हुन्।

‘यतिबेला हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेको छ ? हाम्रो राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यावसायिक क्षेत्र अन्योल र अव्यवस्थाको अवस्थामा किन मौलाउँछ ?’ उनले प्रश्न गरेका छन्।

उनले राज्य प्रणालीलाई कसरी अघि बढाउने, प्रजातान्त्रिक आधारलाई कसरी बलियो बनाउने र अर्थतन्त्रलाई कसरी गतिशील बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने सन्देश दिएका छन्।

देशको वर्तमान अवस्थाको विश्लेषण गर्दा विश्व परिवेश र भू–राजनीतिक परिस्थितिलाई समेत ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र मौलिकताको संरक्षणमा विशेष जोड दिएका छन्।

पूर्वराजा शाहले मुलुकमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्य आवश्यक रहेको बताएका छन्। नेपाली समाजमा करुणा, सद्भाव र देशभक्तिको भावना बलियो बनाएर विभाजित नभई एकताबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन्।

‘नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना बलियो बनाउँदै विभाजित नभई एकताबद्ध भएर सबल र सक्षम नेपाल निर्माण गर्नुपर्नेछ,’ सन्देशमा भनिएको छ।

उनले पछिल्लो समय नेपालले भोगेका प्राकृतिक विपत्तिहरूलाई पनि स्मरण गरेका छन्। भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जिल्लाका नदीतटीय क्षेत्रमा भएको क्षति तथा जनधनको नोक्सानीप्रति उनले दुःख व्यक्त गरेका छन्।

प्रकृतिका नियमलाई स्वाभाविक रूपमा बुझेर त्यससँग सन्तुलन कायम गर्नुपर्ने उल्लेख गर्दै उनले मानवीय कमजोरी र असावधानीका कारण प्राकृतिक विपत्तिको असर थप भयावह हुन सक्ने संकेत गरेका छन्।

देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला एकअर्काको दुःखमा साथ दिनु, सबै क्षेत्रका नागरिकबीच सहकार्य बढाउनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति हुने उनको सन्देश छ।

पूर्वराजा शाहले राष्ट्रिय स्वाभिमान र मौलिकताको रक्षा गर्दै देशलाई सबल र सक्षम बनाउने दिशामा अघि बढ्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।