Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकामा समीक्षा अधिकारीको दसैं, मन भने गाउँघर र परिवारमै

काठमाडौं । गायिका समीक्षा अधिकारी यस वर्षको दसैं परिवारसँग नभई अमेरिकामा मनाउँदै छिन्। सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी समीक्षालाई विदेशमा नेपाली दर्शक तथा श्रोताको माया पाइरहे पनि दसैंमा आफ्ना परिवारका सदस्यसँग हुन नपाउँदा भने खल्लो लागेको छ।

गत वर्षको दसैं उनले अस्ट्रेलियामा मनाएकी थिइन्। त्यतिबेला दिदी पनि साथमा भएकाले परिवारबाट टाढा हुँदाको न्यास्रो केही कम भएको थियो। तर, यस वर्ष भने उनी सांगीतिक यात्राका क्रममा अमेरिकामा छिन्। असोज ७ गते अमेरिका प्रस्थान गरेकी उनको भ्रमण एक महिना पुग्न लागेको छ। यो उनको पहिलो अमेरिका यात्रा पनि हो।

‘अमेरिका आउने कार्यक्रम धेरैअघि नै तय भइसकेको थियो। पहिलोपटक अमेरिका आउने भएकाले रहर पनि थियो,’ समीक्षाले सेतोपाटीसँगको कुराकानीमा भनेकी छन्, ‘तर दसैंमा परिवारसँग नहुँदा अलि खल्लो लागिरहेको छ।’

अमेरिकामा नेपाली समुदायको बाक्लो उपस्थिति छ। सांगीतिक कार्यक्रमका क्रममा उनले नेपाली दर्शक तथा श्रोताबाट माया र साथ पाइरहेकी छन्। तर, चाडपर्वमा आफ्नै परिवारसँग बसेर रमाउनुको खुसी भने अलग हुने उनी बताउँछिन्।

‘यहाँ पनि धेरै नेपाली दाजुभाइ, दिदीबहिनी र बुवाआमाहरू हुनुहुन्छ। सबैले माया गर्नुहुन्छ। तर, दसैंमा आफ्नै बाबा–ममी, हजुरआमा, दाइदिदी सबैलाई धेरै मिस गरिरहेकी छु,’ उनले भनेकी छन्।

बाल्यकालको दसैं सम्झँदा गाउँघरको न्यास्रो

कास्कीको माछापुच्छ्रे गाउँपालिका–लाहाचोककी समीक्षा बाल्यकालका दसैंलाई अविस्मरणीय मान्छिन्। दसैं आउनुभन्दा एक महिनाअघिदेखि नै उनलाई चाडपर्वको उत्साहले छोप्थ्यो। विद्यालय बिदा हुने, नयाँ लुगा लगाउन पाइने र साथीभाइसँग रमाइलो गर्न पाउने कुराले उनी उत्साहित हुन्थिन्।

दसैंमा ठूलाबडाको हातबाट टीका र आशीर्वाद थाप्नु, गाउँका साथीभाइसँग घरघरमा टीका लगाउँदै हिँड्नु र पिङ खेल्नु उनका बाल्यकालका प्रिय सम्झना हुन्।

‘दसैंमा साथीभाइसँग मिलेर गाउँका अरूको घरमा टीका लगाउँदै हिँडेको क्षण कहिल्यै बिर्सन सक्दिनँ। नयाँ लुगा लगाउने र पिङ खेल्ने कुराको पनि छुट्टै रमाइलो हुन्थ्यो,’ उनी सम्झिन्छिन्।

दसैंमा विदेश तथा सहर गएका गाउँका दाजुभाइ र दिदीबहिनी घर फर्किँदा गाउँको वातावरण नै फेरिने गरेको उनको अनुभव छ। घरमा पाहुना आउने र आफन्तसँग भेटघाट हुने क्षणले चाडपर्वलाई थप रमाइलो बनाउँथ्यो।

सेलरोटी, चिनी रोटी र पक्कुको स्वाद

समीक्षाका लागि दसैं केवल टीका र आशीर्वादको पर्व मात्र होइन, बाल्यकालमा खाएका परिकारको सम्झना पनि हो। दसैंमा घरमा च्याङ्ग्रा ल्याउने, सेलरोटी, चिनी रोटी तथा मासुका विभिन्न परिकार बनाउने चलन उनलाई अझै याद छ।

तीमध्ये सेलरोटी, मिठाइका परिकार र पक्कु उनलाई विशेष मन पर्थे।

‘दसैंमा घरमा सेलरोटी र चिनी रोटी बनाउनुहुन्थ्यो। मलाई ती परिकार असाध्यै मन पर्थे। पक्कु पनि निकै मीठो लाग्थ्यो,’ उनी सुनाउँछिन्।

गायन यात्राले उचाइ लिँदै जाँदा समीक्षाको दसैं मनाउने शैली पनि बदलिएको छ। पहिले घरमै बसेर चाडपर्वको तयारी गर्ने र परिवारसँग रमाउने समय हुन्थ्यो। अहिले भने सांगीतिक कार्यक्रमका लागि देशविदेश पुग्नुपर्ने व्यस्तता छ।

यसपालि दसैंसँगै तिहार पनि विदेशमै

सांगीतिक कार्यक्रमको व्यस्तताका कारण समीक्षा लगातार दोस्रो वर्ष परिवारसँग दसैं मनाउनबाट वञ्चित भएकी छन्। यद्यपि, यसपटक अमेरिकामै रहेकी एक साथीसँग दसैं मनाउने योजना रहेको उनले बताएकी छन्।

अमेरिकाको सांगीतिक भ्रमण सकेर उनी तिहारपछि मात्रै नेपाल फर्किनेछिन्। उनको नेपाल फर्कने मिति कात्तिक ३० अर्थात् नोभेम्बर १६ तय भएको छ। त्यसैले यस वर्ष उनको दसैंसँगै तिहार पनि विदेशमै बित्नेछ।

अमेरिकामा सांगीतिक प्रस्तुति, नयाँ अनुभव र नेपाली दर्शकको मायाले उनको यात्रा उत्साहपूर्ण बनेको छ। तर, चाडपर्वको यो समयमा समीक्षाको मन भने आफ्नै गाउँघर, परिवार र बाल्यकालका दसैंका सम्झनातिरै फर्किरहेको छ।