Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज विजयादशमी : बिहान १०:२६ बजे उत्तम साइत, कुन दिशा मा बस्ने ?

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आज घरघरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा लगाएर आशीर्वाद ग्रहण गरिँदै छ।

दसैँघर वा पूजाकोठामा नौ दिनसम्म विधिपूर्वक पूजा–आराधना गरिएकी दुर्गा भवानीको प्रसाद आज मान्यजनबाट ग्रहण गर्ने परम्परा छ। टीका–प्रसाद ग्रहण गर्न शुभ साइत खोज्नेहरूका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १० बजेर २६ मिनेटको समय उत्तम रहेको जनाएको छ।

समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमी आफैँमा सिद्ध र शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत कुर्नुपर्दैन। तर राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको उनले बताएका छन्।

राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय मान्यताका आधारमा साइत निर्धारण गरिएको उनको भनाइ छ।

घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलबाट वैदिक विधिअनुसार अभिषेक गरी विजयादशमीको टीका लगाउने परम्परा छ। आजै घटस्थापनाका दिन स्थापना गरिएको कलश तथा पूजामा आह्वान गरिएका देवीहरूको विसर्जन गर्ने उत्तम साइत बिहान ८ बजेर ४९ मिनेट रहेको समितिले जनाएको छ।

टीका लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्छ। यसो गर्दा चन्द्रमा टीका लगाइमाग्ने व्यक्तिको सम्मुख पर्ने उनले बताएका छन्।

टीका लगाइदिने व्यक्ति भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ फल प्राप्त हुने धार्मिक विश्वासका आधारमा यस्तो दिशा निर्धारण गरिएको उनको भनाइ छ।

टीका लगाउने र लगाइदिने व्यक्तिले फर्कनुपर्ने दिशा कोजाग्रत पूर्णिमासम्म चन्द्रमा रहने राशिका आधारमा निर्धारण हुने बताइएको छ।

विजयादशमीमा घटस्थापनाका दिन वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानी शिरमा पहिरिने चलन छ। धार्मिक विश्वासअनुसार कलशको जलबाट अभिषेक गर्दा वर्षभरि शान्ति प्राप्त हुन्छ।

असत्यमाथि सत्यको विजयको प्रतीक

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो। धार्मिक मान्यताअनुसार त्रेतायुगमा आजकै दिन भगवान् श्रीरामले असत्यका प्रतीक रावणमाथि विजय प्राप्त गरेका थिए। त्यसैले यस दिनलाई विजयको प्रतीकका रूपमा लिने गरिन्छ।

आज गुरु, पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा तथा अन्य मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी यश, ऐश्वर्य, कार्यक्षमता र दीर्घायुको आशीर्वाद लिने परम्परा छ।

पुरुषलाई टीका लगाउँदा दीर्घायु, सम्पत्ति, शत्रुमाथि विजय, ऐश्वर्य, शौर्य, बल, दानशीलता, ज्ञान र कीर्तिको कामना गर्दै विभिन्न पौराणिक पात्रको गुणसँग तुलना गरिएको मन्त्रबाट आशीर्वाद दिने शास्त्रीय विधान छ। महिलालाई दुर्गा देवीको स्वरूप मानेर जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नामका देवीको स्तुतिसहित आशीर्वाद दिने चलन छ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम चल्छ। यस अवधिमा आफन्त तथा मान्यजनकहाँ जानेहरूको चहलपहल बढ्ने गर्छ।

नेपालका विभिन्न समुदायमा टीका लगाउने परम्परामा विविधता पाइन्छ। अधिकांश समुदायमा रातो टीका र पहेँलो जमरा लगाउने चलन रहे पनि केही समुदायले कुलपरम्पराअनुसार दही र अक्षताको सेतो टीका लगाउने गरेका छन्।