Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । आगामी सातादेखि नेपालका अधिकांश भू-भागमा वर्षा हुने सम्भावना देखिएको छ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आगामी मंगलबारदेखि करिब एक सातासम्म वर्षा हुनसक्ने सम्भावना देखिएको मौसमविद्हरूले बताएका छन् ।
मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले आगामी मंगलबारदेखि केही स्थानमा भारी वर्षा र असिनासमेत पर्न सक्ने संकेत गरेका छन् ।
“विभिन्न मोडेलले वर्षाको स्थान र मात्राबारे फरक–फरक अनुमान गरेका छन्,” डा. पोखरेलले भने, “त्यसैले अहिले नै कुन ठाउँमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन छ । आगामी दिनमा मौसम पूर्वानुमानमा परिवर्तन आउन सक्ने भएकाले पछिल्ला अपडेटलाई ध्यान दिनुपर्छ ।”
वर्षा र असिनाको सम्भावनालाई ध्यानमा राख्दै मौसमविद्हरूले धान काट्ने तयारीमा रहेका किसानलाई मौसम पूर्वानुमान हेरेर मात्र योजना बनाउन सुझाव दिएका छन् ।
अर्को साताको मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानलाई सम्भव भए त्यसअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा रोकिएपछि मात्र काट्न आग्रह गरिएको छ । केही स्थानमा असिनासमेत पर्न सक्ने भएकाले बालीनाली जोगाउन थप सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ ।
हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुँदा जोखिम बढ्न सक्ने भएकाले सो क्षेत्रमा यात्रा तथा पदयात्रामा निस्कनेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
यात्रा वा ट्रेकिङको तयारीमा रहेकाहरूलाई जल तथा मौसम विज्ञान विभागको नियमित मौसम पूर्वानुमान र आधिकारिक सूचनाका आधारमा मात्रै आफ्नो योजना बनाउन सुझाव दिइएको छ ।
मौसम पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले सम्भावित वर्षाको प्रभावबाट जोगिन किसान, यात्रु तथा सर्वसाधारण नागरिकलाई पछिल्ला मौसम अपडेटमा निरन्तर ध्यान दिन अनुरोध गरिएको छ ।
२०८३ कार्तिक ६
ताजा नेपाल
२०८३ कार्तिक ५
ताजा नेपाल
२०८३ कार्तिक ५
ताजा नेपाल