Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्पनीको कर, दस्तुर र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थपियो

काठमाडौं । सरकारले कम्पनी दर्ता नवीकरण तथा विवरण अद्यावधिक नगरेका कम्पनीलाई कर, दस्तुर, ब्याज र जरिबानामा दिइएको छुटको अवधि आगामी पुस मसान्तसम्म थप गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगी–व्यवसायीको अनुरोध र उनीहरूले भोग्दै आएका समस्यालाई मध्यनजर गर्दै छुट सुविधाको समयसीमा लम्ब्याउने निर्णय गरेको हो।

यसअघि यस्तो सुविधा उपयोग गर्ने अन्तिम म्याद २०८३ असोज मसान्तसम्म तोकिएको थियो। तर, कात्तिक ९ गतेको निर्णयअनुसार उक्त समयसीमा बढाएर २०८३ पुस मसान्तसम्म पुर्‍याइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर कानुनले तोकेको समयमा विवरण पेस नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना तिर्न बाँकी रहेका कम्पनीले यो सुविधा पाउनेछन्।

व्यवस्था अनुसार कम्पनी सञ्चालनलाई निरन्तरता दिन वा दर्ता खारेज गरी बन्द गर्न चाहने कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबमोजिम लाग्ने नियमित कर, शुल्क तथा दस्तुर बुझाउनुपर्नेछ। साथै, आवश्यक विवरण आगामी पुस मसान्तभित्र पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र आवश्यक विवरण पेस गरेमा त्यसअघिका आर्थिक वर्षमा लागेको वा लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना पूर्ण रूपमा मिनाहा हुने व्यवस्था गरिएको छ।

विभिन्न कारणले कम्पनीको विवरण अद्यावधिक गर्न नसकेका वा समयमै कानुनी प्रक्रिया पूरा गर्न नसकेका व्यवसायीका लागि यो सुविधा उपयोगी हुने अपेक्षा गरिएको छ। यसबाट लामो समयदेखि विवरण नबुझाएका कम्पनीलाई पुनः कानुनी दायरामा आउन, अभिलेख अद्यावधिक गर्न तथा कम्पनीको अवस्था नियमित बनाउन सहज हुने सरकारको अपेक्षा छ।

सरकारले छुट सुविधाको लाभ लिन इच्छुक कम्पनीलाई तोकिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।