Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१७ वर्षकै उमेरमा अख्तियारको हिरासत पुगेका थिए – विचौलिया दीपक भट्ट

धनगढी । अहिले सत्ता र शक्तिकेन्द्रसँगको सम्बन्ध तथा ठुला व्यावसायिक कारोबारका कारण चर्चामा रहेका दीपक भट्ट १७ वर्षकै उमेरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका थिए । उनका बुबा चतुर्भुज भट्ट कृषि सामग्री कम्पनीको महाप्रबन्धक रहेका बेला भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा दीपक पनि पक्राउ परेको जानकारहरूको दाबी छ ।

चतुर्भुज कृषि सामग्री कम्पनीको महाप्रबन्धक हुँदा अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मल खरिद गरी देशभर वितरण गर्ने जिम्मेवारी कम्पनीको थियो । मल खरिदका लागि विनियोजित ५० लाख रुपैयाँ खर्च भए पनि १ बोरा मलसमेत नेपाल नभित्रिएको आरोप लागेको थियो । यही अनियमितता प्रकरणमा अख्तियारले चतुर्भुजलाई पक्राउ गरी हिरासतमा राखेको थियो । सोही क्रममा १७ वर्षीय दीपक पनि बुबासँगै पक्राउ परेको जानकारहरूको दाबी छ ।

दीपकको पारिवारिक पृष्ठभूमि भने डडेल्धुराको सम्पन्न र राजनीतिक पहुँच भएको परिवारसँग जोडिन्छ । उनको पुर्ख्यौली घर डडेल्धुराको साविक भद्रपुर गाविस, हाल अजयमेरु गाउँपालिका–३ मटेला हो । पर्याप्त जग्गाजमिन भएका कारण स्थानीयस्तरमा भट्ट परिवारलाई साहुकार भनेर चिन्ने गरिएको स्थानीय जानकारहरू बताउँछन् । अजयमेरु गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि समेत भट्ट परिवारले जग्गा दान गरेको थियो ।

भट्ट परिवारको राजनीतिक तथा प्रशासनिक पहुँच पञ्चायतकालदेखि नै स्थापित थियो । दीपकका बुबा चतुर्भुज र बडाबुबा गणेशप्रसाद भट्टले भारतको नैनीतालमा अध्ययन गरेका थिए । अध्ययनपछि काठमाडौँ आएका गणेशप्रसाद वीरगन्जमा सरकारी अधिकृतका रूपमा कार्यरत भए । सरकारी सेवामा रहँदा उनको तत्कालीन पञ्चायती व्यवस्थाका प्रभावशाली व्यक्ति शरदचन्द्र शाहसँग सम्बन्ध स्थापित भएको थियो । त्यसपछि उनले सरकारी जागिर छाडेर पञ्चायती राजनीतिमा प्रवेश गरेको जानकारहरू बताउँछन् ।

गणेशप्रसाद २०४३ सालमा डडेल्धुराबाट राष्ट्रिय पञ्चायत सदस्यका उम्मेदवार बनेका थिए । तत्कालीन दरबारको समर्थन प्राप्त उम्मेदवारका रूपमा चुनाव लडेका उनले लालबहादुर खडायतलाई पराजित गर्दै राष्ट्रिय पञ्चायत सदस्य जितेका थिए । त्यसअघि उनी जिल्ला पञ्चायत सभापतिसमेत भएका थिए । २०४३ असार २ गते मरिचमान सिंह श्रेष्ठको नेतृत्वमा गठन भएको सरकारमा उनी वन तथा भू–संरक्षण सहायकमन्त्री बनेका थिए ।

बहुदलीय व्यवस्था स्थापनापछि पनि भट्ट परिवारको राजनीतिक तथा प्रशासनिक पहुँच कायमै रह्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालीन नेता पद्मसुन्दर लावती कृषिमन्त्री भएका बेला गणेशप्र्रसादको पहलमा उनका भाइ चतुर्भुज कृषि सामग्री कम्पनीको महाप्रबन्धक नियुक्त भएको बताइन्छ । चतुर्भुजमाथि लागेको मल खरिदसम्बन्धी अनियमितताको आरोप र त्यसमा दीपकसमेत पक्राउ परेको प्रसंगले उनको सार्वजनिक जीवनको प्रारम्भिक पृष्ठभूमि देखाउँछ ।

दीपकका दाजु सुशील भट्ट पनि उच्च प्रशासनिक पदमा पुगेका व्यक्ति हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साउन १९ गते सुशीललाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । त्यसअघि उनी राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए । सिद्धार्थ बैंकमा सामान्य कर्मचारीका रूपमा काम गरेका सुशीलको लगानी बोर्डमा नियुक्ति हुँदा योग्यता र अनुभवलाई लिएर प्रश्न उठेको थियो ।

सुशील लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बन्नुअघि दीपक र उनी दुवै दाजुभाइ विदेशी कम्पनीका प्रतिनिधि तथा एजेन्टका रूपमा जलविद्युत् आयोजनामा काम गर्ने गरेको जानकारहरू बताउँछन् । ललितपुरको सानेपामा बस्दै आएका ४४ वर्षीय दीपक पछिल्लो डेढ दशकयता विभिन्न सरकार र राजनीतिक शक्तिकेन्द्रसँग निकट सम्बन्ध भएका व्यक्तिका रूपमा चर्चामा छन् ।

२०७७ साउनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चर्किरहेका बेला विवाद मिलाउन गैरराजनीतिक व्यक्ति सक्रिय भएको चर्चा चलेको थियो । ती व्यक्ति दीपक भट्ट नै रहेको बताइन्छ । उनीमाथि सत्तापक्ष, प्रतिपक्ष र संसद्का राज्य व्यवस्था तथा सार्वजनिक लेखा समितिलाई समेत प्रभावमा पार्ने गरेको आरोप लाग्दै आएको छ ।

डडेल्धुराबाट कैलाली हुँदै काठमाडौँ पुगेका दीपक पछिल्लो समय इन्फिनिटी होल्डिङ्समा प्रमुख भूमिकामा छन् । उक्त निजी कम्पनीमार्फत जलविद्युत्, हातहतियार, हेलिकोप्टरलगायत क्षेत्रमा विदेशी कम्पनीका एजेन्टका रूपमा काम गर्दै आएको आरोप छ । ट्राभल एजेन्सी, होटल, घरजग्गा कारोबार र परामर्श सेवामा समेत उनको व्यावसायिक संलग्नता रहेको बताइन्छ ।

१७ वर्षको उमेरमा बुबाको आर्थिक अनियमितता प्रकरणमा पक्राउ परेको दाबीबाट सार्वजनिक चर्चामा आउने दीपकको नाम अहिले विभिन्न ठुला व्यावसायिक कारोबार र राजनीतिक शक्तिकेन्द्रसँगको सम्बन्धका सन्दर्भमा जोडिँदै आएको छ ।