Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको नरेश भट्टको स्वीकार

अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका नरेश भट्टले आफ्नै पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन् ।

तर उनले पत्नी ममताले आत्महत्या गरेको र आफूले डरका कारण शव लुकाएको दाबी गरेका छन् ।

आफ्नै पत्नीको हत्या मुद्दामा दोस्रो दिन बयान दिने क्रममा भट्टले ममताको शव व्यवस्थापन गर्न खोजेकोदेखि शव काटेर टुक्र्याएको र फोहोरमा फालेकोसम्मका घटनाबारे अदालतमा खुलासा गरेका हुन् ।

सन् २०२४ को गर्मीयाममा ममता बेपत्ता भएकी थिइन् । उनको शव अहिलेसम्म फेला परेको छैन । नरेशमाथि हत्या, मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा मुद्दा चलिरहेको छ ।

बिहीबार अदालतमा बयानका क्रममा भट्टले आफूले ममतालाई कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरे । ममताका परिवारका सदस्य र साथीहरूले उनीमाथि घरेलु हिंसा हुने गरेको बताउँदै आएका छन् । तर भट्टले ती आरोप अस्वीकार गरे ।

उनले आफू वैवाहिक सम्बन्धबाट खुसी नरहेको र सम्बन्धविच्छेद गर्न चाहेको पनि बताए । सम्बन्धविच्छेदको कुरा गर्दा ममता आत्तिने र तनावमा पर्ने गरेको उनको भनाइ थियो । उनले ममता सामाजिक सञ्जालका लागि टिकटक भिडियो बनाउँदा मात्रै खुसी देखिने गरेकोसमेत बताए ।

शव भेटिएको दिनको घटनाबारे भट्टको बयान

भट्टका अनुसार उनी जुलाई २९, २०२४ को राति करिब ८ बजे सुत्न गएका थिए । ममता भने भान्सामा काम गर्दै फोनमा कुरा गरिरहेकी थिइन् ।

भोलिपल्ट बिहान करिब ४ बजे छोरीको हेरचाह गर्न उठेका उनले पछि मास्टर बाथरुममा जान खोज्दा असामान्य गन्ध महसुस गरे । त्यसपछि पत्नीलाई खोज्दा बेडरूमको खाटनजिक भुइँमा अचेत अवस्थामा भेटेको उनले बताए ।

ममताको घाँटी र भुइँमा बान्ता देखिएको तथा त्यसमा चक्की, रगत, क्याप्सुल र खानाका कण रहेको भट्टले बयान दिए । उनले त्यहाँ ‘सेल्फोस’ नामक कृषि विषादीसमेत देखेको दाबी गरे ।

ममतालाई अचेत अवस्थामा भेटेपछि आफूले सीपीआर दिने प्रयास गरेको तर प्रहरी वा आपत्कालीन सेवामा तत्काल खबर नगरेको उनले बताए । पत्नीको मृत्युलाई लिएर आफूलाई दोषी ठहर गरिने डरले आत्तिएको उनको भनाइ थियो ।

शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार

भट्टले ममताको शव फोहोरको डस्टबिनमा अटाउन खोजेको र त्यसका लागि शरीरका विभिन्न भाग काटेर सानो बनाउने प्रयास गरेको स्वीकार गरे ।

उनले शवका खुट्टा शरीरबाट अलग गर्ने प्रयास गरेको तर मानसिक र शारीरिक रूपमा कमजोर महसुस भएपछि काम पूरा गर्न नसकेको बताए ।

अदालतमा अभियोजन पक्षले प्रस्तुत गरेको ‘रायोबी’ ब्रान्डको इलेक्ट्रिक आरासमेत आफूले प्रयोग गरेको भट्टले स्वीकार गरे ।

उनका अनुसार उनले घरको डस्टबिनबाट पुरानो फोहोर निकालेर आफ्नो गाडीमा राखेका थिए र पछि फल्स चर्चमा फालेका थिए । त्यसपछि ममताको शव भान्सामा प्रयोग हुने फोहोरका झोलामा राखेको उनले बताए । शवका अवशेष राख्न तीनवटा झोला प्रयोग गरेको शवका टुक्रा अन्यत्र नभई घरको ग्यारेजमा रहेको फोहोरमै फालेको उनले बताए ।

अभियोजन पक्षका वकिलले शव टुक्राटुक्रा पारेर फेला नपरोस् भनेर फोहोरमा राखेको हो भन्दै प्रश्न गर्दा भट्टले ‘हो’ भनेर स्वीकार गरेका थिए ।

शव लुकाउन सामान खोजेको बयान

भट्टले शव व्यवस्थापनका लागि आवश्यक सामान खोज्दै होम डिपो र वालमार्ट गएको पनि बताए । होम डिपोबाट पञ्जा किनेको स्वीकार गर्दै उनले पोटोम्याक नदीसम्म शव लैजान मिल्ने सामग्री खोजिरहेको बताएका थिए ।

त्यस्तै, ममताको शव काट्न प्रयोग गरिएको चक्कु र अन्य सामग्रीबारे पनि अभियोजन पक्षले प्रश्न गरेको थियो । भट्टले केही चक्कु प्रयोग गरेको स्वीकार गरे ।

उनले ममताको मोबाइल फोन पछि नालीमा फालेको पनि अदालतमा बताए ।