Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य सञ्चालनमा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति हाबी हुँदै गएको आरोप लगाएका छन्। विगतमा सुशासन र विकासका क्षेत्रमा भएका उपलब्धिलाई समेत पूर्णतः अस्वीकार गर्ने प्रवृत्ति बढेको भन्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
शनिबार काठमाडौंमा दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रचण्डले सरकारका पछिल्ला गतिविधिले राज्य सञ्चालनको शैलीमाथि प्रश्न उठाएको बताए।
उनले वर्तमान सरकारका गतिविधि हेर्दा हिन्दी जासुसी फिल्मजस्तो देखिन थालेको टिप्पणी गरे। सरकारले अस्वाभाविक र विचित्रका काम गर्न थालेको भन्दै उनले राज्य सञ्चालनमा विवेक र जिम्मेवारी आवश्यक रहेको धारणा राखे।
आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा अभियान सञ्चालन गर्दा सरकारबाट हटाइएको दाबी गर्दै प्रचण्डले त्यसको परिणामस्वरूप मुलुक दुर्घटनातर्फ अघि बढेको जिकिर गरे। सुशासनका लागि गरिएका प्रयासलाई निरन्तरता दिनुको सट्टा विगतका कामलाई अस्वीकार गर्ने प्रवृत्ति देखिएको उनको भनाइ थियो।
कार्यक्रममा प्रचण्डले कर्णालीको विकासका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको स्मरण गरे। शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गर्दै उनले कर्णालीको विकास र त्यहाँका नागरिकको जीवनस्तर सुधारका लागि राज्यले अझै प्राथमिकता दिनुपर्ने बताए।
भौगोलिक विकटता, पूर्वाधारको अभाव र विकासका अवसरमा सीमित पहुँचका कारण कर्णाली अझै पनि विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै उनले राज्यको ध्यान कर्णालीको समग्र विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे।
‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तकले कर्णालीको विकास, उपेक्षा र सम्भावनाबारे बहस गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२०८३ कार्तिक २३
ताजा नेपाल
२०८३ कार्तिक २३
ताजा नेपाल
२०८३ कार्तिक २३
ताजा नेपाल