Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक सुविधासम्पन्न कर्पोरेट भवन निर्माण गर्ने भएको छ। करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने १२ तले भवनको बैंकले शुक्रबार भूमिपूजा गरी औपचारिक सुरुवात गरेको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले निर्माणस्थलमा विधिपूर्वक भूमिपूजा गरेका थिए।
बैंकका अनुसार भवनमा सवारीसाधन पार्किङका लागि दुई तला भूमिगत संरचना, एउटा भुइँतला र त्यसमाथि नौ वटा तला रहनेछन्। आधुनिक वास्तुकला, वातावरणमैत्री पूर्वाधार र अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको भवनलाई काठमाडौं उपत्यकाकै नमुना व्यावसायिक संरचनाका रूपमा विकास गर्ने बैंकको लक्ष्य छ।
भूमिपूजा कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नयाँ भवन वाणिज्य बैंकका कर्पोरेट कार्यालयमध्ये आधुनिक र ठूलो संरचनाका रूपमा निर्माण हुने बताए। भवनले बैंकको संस्थागत पहिचान थप मजबुत बनाउनुका साथै सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही र कर्मचारीको सुविधालाई प्राथमिकतामा राखेर भवनको डिजाइन तयार गरिएको बताए। पार्किङ व्यवस्थापनदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङ प्रयोग गरिने उल्लेख गर्दै उनले भवनलाई ऊर्जा बचत गर्ने प्रविधिमा आधारित बनाइने जानकारी दिए।
भवनमा पानीको दिगो व्यवस्थापनका लागि आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा प्रणाली जडान गरिने बैंकले जनाएको छ। यी व्यवस्थाले प्राकृतिक स्रोतको उचित उपयोग र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
भूमिपूजा कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापनका सदस्य तथा कर्मचारीहरूको उपस्थिति थियो।
ग्लोबल आईएमई बैंकले पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग र सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ। बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को सम्मान प्राप्त गरेको जनाएको छ। त्यस्तै, युरोमनी अवार्ड फर एक्सिलेन्स, बेस्ट बैंक ईएसजी नेपाल र बेस्ट इम्प्लोयरलगायतका सम्मान पनि प्राप्त गरेको छ।
मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक बनेको ग्लोबल आईएमईका हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व सङ्कलन काउन्टर सञ्चालनमा छन्। विदेशमा तीन प्रतिनिधि कार्यालयसमेत रहेको बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।
बैंकले विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ। नयाँ कर्पोरेट भवन निर्माणलाई बैंकले संस्थागत पूर्वाधार विस्तार र आधुनिक बैंकिङ सेवाको विकाससँग जोडेको छ।
२०८३ कार्तिक २३
ताजा नेपाल
२०८३ कार्तिक २३
ताजा नेपाल
२०८३ कार्तिक २३
ताजा नेपाल