Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किशोरीमाथि जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ

काठमाडौं । सल्यान र बाँकेमा किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सल्यानमा १२ वर्षीया बालिका र बाँकेमा १७ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा उनीहरूलाई शुक्रबार साँझ छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो ।

सल्यानको कालिमाटी गाउँपालिका–५ निवासी १९ वर्षीय खुमराज खड्कालाई १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ । बालिकामाथि जबर्जस्ती करणी भएको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै, बाँकेमा १७ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बर्दियाको बाँसगढी नगरपालिका–२ पिपल चौतारा निवासी २२ वर्षीय हेमन्त परियार पक्राउ परेका छन् । पीडित पक्षको उजुरीपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।