Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजित हुँदैमा राजनीतिक आन्दोलनको भविष्य समाप्त नहुने भन्दै नेकपा एमालेका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरेकी छन् ।
सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनमा भएको हारबाट पाठ सिकेर कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताएकी हुन् । बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो ।’
गत २१ फागुनमा सम्पन्न निर्वाचनको परिणामलाई उनले अस्थायी धक्काको संज्ञा दिइन् । निर्वाचनमा पार्टीले व्यहोरेको पराजयबाट निराश भएर निष्क्रिय बस्नुभन्दा विगतका अनुभव र ऐतिहासिक विरासतबाट शिक्षा लिएर नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसपछि सम्पन्न निर्वाचनको परिणामले एमालेका नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको हुन सक्ने उनले स्वीकार गरिन् । तर विगतमा पनि पार्टीले यस्ता चुनौती सामना गरेको स्मरण गराउँदै उनले अहिलेको अवस्थाबाट बाहिर निस्कन सकिने विश्वास व्यक्त गरिन् ।
‘सन् १९९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का व्यहोरेको अवस्थामा पनि हामीले पलायनको बाटो रोजेनौँ, बरु आन्दोलनलाई थप लोकप्रिय, सशक्त र व्यापक बनाउँदै अघि बढ्यौँ,’ उनले भनिन् ।
भण्डारीले निर्वाचनमा भएको पराजयलाई सच्याउन सकिने पनि बताइन् । त्यसका लागि पार्टीले आफ्ना कमजोरी पहिचान गर्दै संगठन र कार्यशैलीमा सुधार गर्नुपर्ने उनको सुझाव थियो ।
उनले मदन भण्डारीको ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने भनाइ स्मरण गराउँदै नेता तथा कार्यकर्तालाई आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुट्न आग्रह गरिन् ।
‘निकट भविष्यमा हुने स्थानीय तहसहितका निर्वाचनलाई समेत ध्यानमा राख्दै हाम्रा नीति, योजना र कार्यक्रम जनतासमक्ष पुर्याउनुपर्दछ,’ उनले भनिन् ।
चुनावी तयारीका क्रममा जनताको विश्वासलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने उनको धारणा छ । जनताको विश्वास नै पार्टीको सबैभन्दा ठूलो राजनीतिक पुँजी भएको उल्लेख गर्दै उनले विचार, व्यवहार, कार्यशैली र जनताको जीवनमा ल्याउने सकारात्मक परिवर्तनबाट मात्रै त्यो विश्वास आर्जन गर्न सकिने बताइन् ।
यसैबीच, भण्डारीले कुनै पद प्राप्त गर्ने आकांक्षाले आफू सक्रिय राजनीतिमा नफर्किएको स्पष्ट पारेकी छन् ।
राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च संवैधानिक पदमा पुगिसकेकाले आफूमा अब कुनै पदप्रति विशेष मोह नरहेको बताइन् ।
‘साँच्चै भन्ने हो भने अब म कुनै पनि पदप्रति निष्पृहजस्तै भएको छु । किनकि मैले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहोदा हासिल गरिसकेको छु,’ उनले भनिन् ।
सक्रिय राजनीतिमा फर्किनुको उद्देश्य मातृ पार्टी एमालेको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउनु रहेको उनको भनाइ छ ।
सात वर्षे राष्ट्रपति कार्यकालमा आफूले संवैधानिक दायरा र मर्यादाभित्र रहेर काम गरेको दाबी पनि उनले गरिन् । राष्ट्रपति पदमा रहँदा देश र जनताको हितमा गरेका काम सबैका सामु स्पष्ट रहेको उनको भनाइ थियो ।
भण्डारीको सम्बोधनले निर्वाचनमा पराजयपछि निराश बनेको एमाले पंक्तिलाई पुनः संगठित गर्दै आगामी निर्वाचनका लागि सक्रिय बनाउने सन्देश दिएको छ ।
२०८३ मंसिर ४
ताजा नेपाल
२०८३ मंसिर ४
ताजा नेपाल
२०८३ मंसिर ४
ताजा नेपाल