Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्वाचनको तयारीमा जुट्ने एमालेकाे निर्णय

काठमाडौं । नेकपा (एमाले) ले आगामी स्थानीय, प्रदेश तथा राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको चुनावी तयारी अघि बढाउने निर्णय गरेको छ । मंसिर २ र ३ गते काठमाडौंमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले २१ बुँदे विशेष प्रस्ताव तथा संकल्प पारित गर्दै निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने निर्णय गरेको हो ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित आयोजित भेलामा देशभर तथा प्रवासबाट गरी ३ हजार ४१४ जना प्रतिनिधि सहभागी थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको भेलामा पार्टीका शीर्ष नेताहरूले समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, पार्टीको आगामी कार्यदिशा र निर्वाचन तयारीका विषयमा धारणा राखेका थिए ।

भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा धारणा राख्दै पार्टीले भोगेको राजनीतिक धक्का निर्वाचन परिणामबाट मात्रै सुरु नभएको बताए । उनले लोकतन्त्रको पुनर्बहालीका लागि एमालेले जनताको पुनर्जागरण अभियानको नेतृत्व गर्ने दाबीसमेत गरे ।

त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्नुपर्नेमा जोड दिइन् । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि प्रतिबद्ध हुनुपर्ने धारणा राखे । उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको सरकारले देश र जनताका पक्षमा गरेका कामबारे चर्चा गरेका थिए ।

महासचिव शंकर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीसम्बन्धी प्रशिक्षणमूलक सम्बोधन गरेका थिए ।

भेलाले पारित गरेको प्रस्तावमा वर्तमान सरकारको आठमहिने कार्यकालको आलोचना गर्दै राजनीतिक प्रतिशोध, मौलिक अधिकारको हनन र संवैधानिक संस्थामाथिको हस्तक्षेप बढेको आरोप लगाइएको छ । पार्टी अध्यक्ष ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरूको गिरफ्तारी, सञ्चारमाध्यममा प्रहरी प्रवेश तथा पत्रकार पक्राउजस्ता घटनालाई एमालेले अलोकतान्त्रिक कदमको संज्ञा दिएको छ ।

त्यस्तै, भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्न सक्षम न्यायिक आयोग गठन गर्नुपर्ने माग पनि भेलाले अघि सारेको छ । उक्त घटनासँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ ।

संविधान, संघीयता र संवैधानिक संस्थाहरूको भूमिकामाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाउँदै एमालेले लोकतन्त्र र संविधानको रक्षाका लागि अन्य राजनीतिक दल, नागरिक समाज तथा बौद्धिक समुदायसँग सहकार्य गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

भेलाले महँगी नियन्त्रण, करको भार घटाउने, व्यवसायमैत्री वातावरण निर्माण र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउनुपर्ने माग पनि प्रस्तावमा समेटिएको छ ।

यसैगरी, आगामी निर्वाचनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित संगठनलाई एकताबद्ध र गतिशील बनाउने संकल्प गरिएको छ । पार्टीभित्र देखिएका कमजोरी, आर्थिक तथा आचरणगत विचलन र गुटबन्दी अन्त्य गर्दै जनतामाझ विश्वास पुनःस्थापित गर्ने प्रतिबद्धता भेलाले व्यक्त गरेको छ ।

युवापुस्तासँग संवाद बढाउने, उनीहरूको भावना र सरोकार बुझ्ने तथा पार्टीको गतिविधिमा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने निर्णयसमेत गरिएको छ । उम्मेदवार छनोट गर्दा निर्धारित विधि, जनता र कार्यकर्ताको भावनालाई प्राथमिकता दिने तथा पार्टीको निर्णय कार्यान्वयनमा एकताबद्ध भएर लाग्ने संकल्प पनि एमालेले गरेको छ ।

भेलाले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनजीविका, प्रवासी नेपालीका सरोकार, विश्व शान्ति र जलवायु न्यायलगायत विषयमा समेत विभिन्न प्रस्ताव पारित गरेको छ ।

एमालेले गत वर्षको राजनीतिक धक्काबाट माथि उठ्दै पार्टीलाई पुनः सशक्त राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । यसका लागि जनताका सुझाव, गुनासा र आलोचना सुन्ने तथा पार्टीको कार्यशैलीमा सुधार गर्ने प्रतिबद्धता भेलाले व्यक्त गरेको छ ।