Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रिकेट रङ्गशाला निर्माणबारे छलफल गर्न एनपीएलका आठै टोलीका मालिकलाई बोलाइयो

काठमाडौँ । डेडिकेटेड क्रिकेट रङ्गशाला निर्माण गर्ने सरकारको योजनाबारे छलफल गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका मालिकलाई मन्त्रालयमा बोलाएका छन्।

मन्त्री पोखरेलले मंगलबार दिउँसो ३ बजे हुने छलफलका लागि आठवटै टोलीका मालिकलाई निमन्त्रणा गरेका हुन्। छलफलमा प्रत्येक टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रङ्गशाला निर्माण गर्ने सरकारको योजना र त्यसको कार्यान्वयनका विषयमा कुराकानी हुने बताइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलका आठवटै फ्रेन्चाइज टोलीका लागि फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको केही दिनमै मन्त्रालयले यससम्बन्धी छलफल अघि बढाएको हो।

प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित आठवटै टोलीका लागि छुट्टाछुट्टै घरेलु मैदान निर्माण गरिने घोषणा गरेका थिए।

सरकारको योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थनगर, कर्णाली याक्सका लागि सुर्खेत र सुदूरपश्चिम रोयल्सका लागि धनगढीस्थित फाप्लामा क्रिकेट रङ्गशाला निर्माण गरिनेछ।

त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रङ्गशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रङ्गशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री शाहका अनुसार धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ। अन्य रङ्गशालाको निर्माण प्रक्रिया भने आगामी तीन महिनाभित्र सुरु गर्ने सरकारको तयारी छ। यी पूर्वाधार नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिने बताइएको छ।

सबै रङ्गशाला निर्माण सम्पन्न भएपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने सरकारको लक्ष्य छ। यसबाट प्रतियोगितालाई काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न सहरमा विस्तार गर्न तथा स्थानीयस्तरमा क्रिकेटको विकास र खेल पूर्वाधार निर्माणलाई गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आठवटै फ्रेन्चाइज टोलीका लागि छुट्टाछुट्टै घरेलु मैदान निर्माण गर्ने योजनाले नेपाली क्रिकेटको व्यावसायिक विकास, क्षेत्रीय सहभागिता र खेल पर्यटन प्रवर्द्धनमा समेत नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।