Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाहना र दबाबकै आधारमा आफूले पदबाट राजीनामा नदिने स्पष्ट संकेत दिएका छन् ।
मंगलबार विराटनगरमा सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेताहरूसँग भएको छलफलमा कार्कीले शीर्ष नेताहरूबीच सर्वसम्मति नभएसम्म राजीनामाबारे निर्णय नलिने अडान राखेका हुन् ।
छलफलमा सहभागी एक नेताका अनुसार मुख्यमन्त्री कार्कीले कार्यकालको अन्तिम चरणमा सरकार परिवर्तन गर्नु उपयुक्त नहुने धारणा राखेका थिए । यस्तो अवस्थामा नेतृत्व परिवर्तन गर्दा प्रदेशमा राजनीतिक अस्थिरता बढ्नुका साथै गलत सन्देश जाने उनको भनाइ थियो ।
उनले शीर्ष नेताहरूबीच सहमति नभई गुटगत दबाब र जोरजबरजस्तीका आधारमा राजीनामा नदिने स्पष्ट पारेको ती नेताले बताए । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका प्रदेश कमिटी संयोजक हर्क नेम्वाङ मिक्सो ले पनि निर्वाचनको मुखमा सरकार परिवर्तन गर्नु उचित नहुने धारणा राखेका थिए ।
उनले मधेश प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै कार्यकालको अन्तिम समयमा नेतृत्व परिवर्तन गर्दा राजनीतिक दलहरूकै छवि कमजोर हुने बताएका थिए । विगतमा पटक–पटक सरकार र गठबन्धन परिवर्तन हुँदा दलहरू जनतामाझ बदनाम भएको उनको भनाइ थियो ।
छलफलमा नेकपाका तर्फबाट प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संसदीय दलका नेता इन्द्र आङ्बो र संयोजक नेम्वाङ सहभागी थिए । एमालेका तर्फबाट मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप र प्रदेश सांसद रेवतीरमण भण्डारी सहभागी भएका थिए ।
लिङ्थेप र भण्डारी मुख्यमन्त्री कार्की निकट मानिन्छन्। कार्कीइतर पक्षका मानिने खानेपानी तथा सिँचाइमन्त्री तिलचन पाठक भने केही समय सहभागी भएर बैठकबाट बाहिरिएका थिए ।
मुख्यमन्त्री कार्कीलाई पदबाट हटाउन एमाले नेता शेरधन राई, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालगायत केही सांसदले पार्टी अध्यक्ष ओलीसमक्ष दबाब दिँदै आएका छन् । गत साउन २० गते ओली, कार्की, प्रदेश अध्यक्ष खतिवडा र सचिव राजकुमार भण्डारीसहितका नेताबीच पनि यस विषयमा छलफल भएको थियो ।
उक्त बैठकमा सहभागी एक नेताका अनुसार दशैँ–तिहारपछि कार्कीले राजीनामा दिने र अध्यक्ष ओलीले उपयुक्त समयमा दिएको निर्देशन पालना गर्ने समझदारी बनेको थियो । तर मंगलबारको छलफलमा कार्कीले महासचिव शंकर पोखरेलसहित पार्टीका शीर्ष नेताहरूबीच सर्वसम्मत निर्णय भए मात्रै राजीनामा दिने अडान दोहोर्याएका छन् । वरिष्ठ नेता विद्या भण्डारीको समेत साथ पाएपछि मुख्यमन्त्री कार्की अध्यक्ष ओलीको दबाबसामु झुक्नुभन्दा आफ्नो अडानमा कायम रहने मनस्थितिमा पुगेको नेताहरूको बुझाइ छ।
एमाले अध्यक्ष ओलीले पार्टीमाथि लाग्दै आएको पहिचान र आदिवासी–जनजातिविरोधी छवि हटाउने रणनीतिअन्तर्गत लिम्बू समुदायका नेता तिलकुमार मेन्याङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने तयारी गत वैशाखदेखि नै गर्दै आएको बताइन्छ ।
गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि ओली र कार्कीबीचको सम्बन्ध थप चिसिएको एमाले नेताहरूको भनाइ छ । मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन कार्कीले राजीनामा दिनुपर्ने सन्देशसहित एमाले नेता शेरधन राई साउनमा विराटनगर आएका थिए ।
पार्टीमा राई र कार्की दुवै सचिव रहेकाले आफूभन्दा वरिष्ठ सचिवको हैसियतमा राईले राजीनामा दिन निर्देशन दिएपछि कार्कीले असन्तुष्टि जनाएका थिए । समान हैसियतको नेताले आफूलाई निर्देशन दिन नमिल्ने उनको तर्क थियो ।
श्रम संस्कृति पार्टीतर्फ आकर्षित भएका आदिवासी–जनजाति समुदायका मतदाता पुनः एमालेमा फर्काउने र थप मतदाता पलायन हुनबाट रोक्ने उद्देश्यले मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा ओली रहेको बताइन्छ ।
मुख्यमन्त्री कार्कीको पद जोगिनुमा यसअघि नेपाली कांग्रेसले गरेको सहयोग पनि महत्वपूर्ण मानिएको छ। चालु आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सरकारले ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट असफल बनाउन अध्यक्ष ओलीले निर्देशन दिएको बताइए पनि तत्कालीन सत्ता साझेदार कांग्रेसले बजेट पारित गराउन सहयोग गरेको थियो ।
यद्यपि बजेट असन्तुलित भएको भन्दै एमाले र कांग्रेसकै सांसदहरूले सरकारको आलोचना गरेका थिए । त्यसपछि बजेट पुनरावलोकनको मागसहित हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो भने बजेटका विषयमा सहमति जुटाउन कार्यदलसमेत गठन गरिएको थियो ।
यसैबीच, बैठकमा सहभागी एमाले सांसद रेवतीरमण भण्डारीले राजनीतिक विषयमा छलफल भएको पुष्टि गरेका छन् । उनले अध्यक्ष ओलीले पछिल्लो समय मुख्यमन्त्री कार्कीको राजीनामा मागेको विषयमा आफूलाई जानकारी नभएको बताए । यद्यपि मुख्यमन्त्रीलाई पदबाट हटाउन पार्टीभित्रै केही नेताहरू सक्रिय रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री कार्कीको राजीनामा र नयाँ नेतृत्व चयनको विषयले कोशी प्रदेश एमालेभित्रको आन्तरिक शक्ति संघर्षलाई पुनः सतहमा ल्याएको छ शीर्ष नेतृत्वको सहमति, पार्टीभित्रको गुटगत समीकरण र सत्ता साझेदार दलहरूको भूमिकाले अब कोशी प्रदेश सरकारको भविष्य कता मोडिन्छ भन्ने चासो बढाएको छ ।
२०८३ मंसिर १०
ताजा नेपाल
२०८३ मंसिर १०
ताजा नेपाल
२०८३ मंसिर १०
ताजा नेपाल