Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रोजगारी सिर्जना हुने बजेट ल्याउन सुझाव

काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका युवा स्वदेश फर्कन चाहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना हुने गरी आगामी आर्थिक बर्षको बजेट ल्याउन सांसदहरुले सरकारलाई सुझाव दिएका छन् । खाडी मुलुक तथा मलेसियामा रहेका कामदार फर्कन तयार रहेको सन्दर्भलाई विशेष ध्यानमा राखेर उनीहरुलाई कृषि क्षेत्रमा लगाउने र आत्मनिर्भरताको मार्गमा अगाडि बढाउने गरी कार्यक्रम जरुरी रहेको भन्दै उनीहरुले सीप, क्षमता तथा आवश्यकतालाई केन्द्रमा राखेर कार्यक्रम जरुरी रहेको सांसदको भनाइ छ ।
विदेशमा सिकेको सीपले देशभित्रै स्वरोजगार बनाउने, आत्मनिर्भरताका लागि थप प्रेरित गर्ने भएकाले मुलकलाई थप सबल बनाउने स्पष्ट पार्दै सांसदहरुले साना तथा मझौला उद्योगको विकास र विस्तार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । यस्तै केही सांसदले नेपाल भारत सीमा क्षेत्रमा लगातार हस्तक्षेप भइरहेकोप्रति सरकारको ध्यानकर्षण गराउँदै समस्या समाधानका लागि खुट्टा नकमाउनसमेत अनुरोध गरे ।प्रतिनिधिसभाको आजको वैठकमा पनि ‘आर्थिक वर्ष २०७७र०७८को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथिको छलफलमा भाग लिँदै उनीहरुले कोरोना कहरसँग जुध्न प्रभावकारी आर्थिक उन्नयनको कार्यक्रम जरुरी रहेको बताए ।
छलफलमा भाग लिँदै सांसद लक्ष्मी परियारले कोभिड–१९ को बहुपक्षीय प्रभावलाई ध्यान दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिइन् । उनले कोभिडको सङ्क्रमण फैलन नदिन र यसबाट नागरिकलाई सुरक्षित बनाउन परीक्षण दायरा फराकिलो बनाइनुपर्ने, विदेशमा अलपत्र नागरिकलाई स्वदेश फर्काएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिन।
सांसद दामोदर भण्डारीले कालापानी र लिम्पियाधुरा क्षेत्रको सुरक्षार्थ सरकारले सुरक्षाकर्मी खटाएर प्रसंशनीय कार्य गरेको भन्दै वर्षौदेखि भारतले एकतर्फीरुपमा गरिरहेको अतिक्रमणलाई रोक्न काँडेतारबार लगाउनुपर्ने बताए । सांसद प्रमिला राईले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवालाई स्वदेश फर्केपछि कृषि उत्पादनलगायत क्षेत्रमा रोजगारी आकर्षित गर्नेजस्ता कार्यक्रमलाई आगामी बजेटले सम्बोधन गरिनुपर्ने बताइन । सांसद नवराज सिलवालले आगामी आर्थिक वर्षको बजेटले कृषि उत्पादन र रोजगार प्रवद्र्धनका साथै मुलुकको स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि प्राथमिकता दिन जरुरी भएको बताए ।
सांसद मीना सुब्बाले कृषिमा लगानी बढाई रोजगारी सिर्जना हुनेगरी बजेट विनियोजन हुुनुपर्ने र कृषि क्षेत्रमा आत्मनिर्भरताको विषय नारामा मात्रै नभई व्यवहारिक कार्यान्वयन गर्ने तर्फ लाग्न सुझाव दिए । सांसद समिना हुसेनले कोभिडको महामारीका कारण थलिएको अर्थतन्त्रलाई उकास्नेगरी बजेट ल्याइनुपर्ने बताए । सांसद चाँदतारा कुमारीले आगामी बजेटले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योगजस्ता क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए । सांसद हीरा गुरुङले कोभिडको महामारीबाट नागरिकलाई जोगाउन परीक्षणको गतिलाई तिब्र बनाउदै स्रोत साधन र जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
सांसद पुष्पाकुमारी कर्ण कायस्थले कोभिडपछिको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेटले तमाम क्षेत्रलाई सम्बोधन गर्नुपर्ने बताइन । सांसद लालप्रसाद साँवा लिम्बुले वैदेशिक रोजगारीबाट फर्कने ठूलो सङ्ख्याका श्रमिकलाई रोजगारी सिर्जना हुने कृषि क्षेत्रलगायतलाई बजेटले प्राथमिकता दिनुपर्ने बताए । सांसद देवप्रसाद तिमिल्सिनाले कोभिडको महामारीबाट नागरिकलाई बचाउन सरकारले प्रभावकारी कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गरे । सांसद मैनाकुमारी भण्डारीले बजेटमा स्वास्थ्य, कृषिलगायत क्षेत्रलाई प्राथमिकता दिइनुपर्ने बताए ।
सांसद प्रकाश रसाइली ‘स्नेही’ मुलुकमा कोभिड–१९ भन्दा बढी भ्रष्ट्राचार खतरनाक भएर आएकाले त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरे । सांसद तुल्सी थापाले कोभिडको महामारी विरुद्ध जुट्न सिङ्गो राष्ट्र एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै आर्थिक समृद्धिसहितको जनअपेक्षालाई पूरा गर्ने गरी बजेट ल्याउन सुझाव दिए । उनले नेपालको सीमामा भारतले निरन्तर अतिक्रमण गरेकाले त्यसविरुद्ध जुध्न राष्ट्रिय एकता अपरिहार्य भएको उल्लेख गरे ।
सांसद दीपकप्रकाश भट्टले नागरिकलाई अभिप्रेरित गर्ने र आर्थिक विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने गरी आगामी आर्थिक बर्षको बजेट ल्याउन र त्यसको व्यवहारिक कार्यान्वयन गर्न आग्रह गरे ।


सम्बन्धित समाचार