Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घाटाको निगम खाडलमा, हिमालयन एयर डलरमा

काठमाडौं । सरकारले जेसुकै भने पनि पर्यटन मन्त्रालयले चासो नदिँदा नेपाल वायुसेवा निगमका उडानहरु रोकेर निजी कम्पनीको हिमालय एयरलाइन्सलाई उडान भर्न दिनु भनेको कमिशन नभएर के हो ? थामसेर्कु समूहसँग जोडिएको यो कम्पनीले विदेशमा अलपत्र परेका नेपालीहरुमाथि गरेको लूटबारे नत बालुवाटार बोल्छ, नत पर्यटन मन्त्रालयले नै चासो दिन्छ । देश छाडेर रोजगारीका लागि जाँदा ऋण काढेर जम्मा भएको विदेश गएकाहरूबाट जम्मा भएको श्रमिक कल्याणकारी कोषमा रु ६ अर्ब छ । तर सरकारले विदेशमा श्रम गरेर आफ्नो देशमा र्यामिट्यान्स पठाउँदै आएका मजदुरहरू बिचल्लीमा पर्दा समेत सहयोग गरेन ।

त्यही कोषको पैसाले श्रममन्त्री विदेश भ्रमण गर्छन् । तर जसले कोषमा पैसा जम्मा गर्यो त्यसको बिचल्ली हुँदा सिंहदरबारलाई दया जागेन । दया जागोस् पनि कसरी तिनका सन्तान कोही खाडीमा छैनन् । छन् भने गरिबकै छन् । ठूला बडाका सन्तान अमेरिका, युरोप र अष्ट्रेलिया जस्ता विकसित मुलुकमा ऐस आराम गरिरहेका छन् । विदेश नजानेहरू पनि देशमै ठेक्का पट्टा कब्जा गर्नमै व्यस्त छन् । जनताका छोराछोरी खाडीमा पसिना बगाउँदैछन् भन्ने यी नवसामन्तहरूलाई पत्तो छैन । अहिलेको यथार्थता यस्तै छ । कोरोना महामारीबाट रोजगारी गुमाएका ५० हजार मजदुरले स्वदेश फर्कन राजदूतावासहरूमा आवेदन दिएका छन् ।

सम्बन्धित मजदुरलाई शोषण गरेर महंगो टिकट भिडाउने ट्राभल एजेन्सीहरूको लुटले सरकारलाई त्यतिबेला झस्कायो जतिबेला टिकट बिक्री भइसकेको थियो । सरकारले पहिलो लटमा २४ हजारलाई ल्याउने निर्णय गर्दै बायुसेवा निगम र प्रम ओलीसँग घाँटी जोडिएको थामसेर्कु समूहको हिमालयन एयरलाई कार्यक्षेत्र र उडान तेक्यो । तर वायुसेवा निगम डुबाउँदै आएका गिरोहले निगमका उडान रोकेर थामसेर्कुलाई सघायो, देशको नागरिकप्रति जिम्मेवार हुन नसकेको सरकारले विदेशमा श्रम गर्ने आफ्ना नागरिकप्रति जिम्मेवार बन्छ भन्ने विश्वास दिलाउन सकेन ।

लोकतन्त्र, सुशासन जे जे फलाके पनि सरकारमा रहेका मन्त्रीहरू मात्र होइनन् यो समस्याप्रति प्रधानमन्त्री समेत जिम्मेवार देखिएका छैनन् । मजदुरले तिरेर श्रमिक कोषकै रकमले मन्त्री, सचिव र विभागका महानिर्देशक विदेश भ्रमण गर्छन् । तर श्रमिकको हितमा त्यो कोष प्रयोगमा आएन । देशमा श्रमजीवी वर्गको हित गर्ने सरकार छ मुखले भनिन्छ तर सत्तामा पुगेकाहरूको सोच सामन्तवादी शैलीमा रुपान्तरण भयो । कल्याणकारी कोषमा रु ६ अर्ब, इपिएस कोषमा २० करोड रुपैयाँ राज्यकोषमा छ ।

तर सरकार मजदुरलाई टिकटको भारी बोकाएर चौगुणा बढाएर उद्दार गरेको हाँक दिँदैछ । राज्यकोष सही ठाउँमा प्रयोग गर्न वर्तमान सरकार रुचाउँदैन । विदेशबाट नेपाली फिर्ता ल्याउन पर्यटन मन्त्रालयले वायसेवा निगम र हिमालय एयरलाई उडान बाँड्यो । निगमलाई माल्दिप्स, मलेसिया, साउदी अरब, युएई, कतार, कुवेत, अस्ट्रेलिया, बहराइन तोकियो तर निगमले विमान ह्याङ्गरमा थन्क्यायो । हिमालय एयरले सिंगापुर र कम्बोडिया, ढाका मात्र होइन माल्दिप्स र कोलम्बो समेत भ्याएकै थियो ।

राष्ट्रिय ध्वजाबहाक कम्पनीलाई ध्वस्त बनाउने थाकसेर्कुलाई धनी बनाउने समृद्धि र विकासको ऐलान गर्ने प्रधानमन्त्री केपी ओलीलाई विदेशमा रहेका दूतावासका कर्मचारीले छत्र्याएको थाहा छैन भन्न मिल्दैन । प्रम ओलीको सहमति बिना सिन्का भाँचिँदैन भन्ने सबैलाई थाहा छ । किनकि सरकार कमिशन खान दायाँ बायाँ हेर्दैन । राष्ट्रिय समस्यामा पार्टीको अपनत्व छैन । गुटलाई पुष्ट्याउने ओली सरकारको समृद्धि र विकासले देशभित्र भोकमरीले ज्यान गुमाएका गरिबको सेवा गर्दैन । मुखले जे भने पनि व्यवहारले दमन गरेपछि यथार्थ आउँछ । ठूलाले जताततै राज्यकोषमा लुट मच्चाउने, कोरोना नियन्त्रणमा खटेका स्वास्थ्यकर्मी, सुरक्षा टोलीले भत्ता नपाउने कपटी संस्कृतिको जताततै विरोध भएको छ । दुई तिहाईको दम्बले मातेको नेकपाको नेतृत्व र प्रधानमन्त्री केपी ओलीको शासन जनविरोधीको रुपमा स्थापित भएको छ । नेतृत्वको व्यवहारले अब नेकपा जनताबाट टाढिँदैछ ।