Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चारदिनसम्म देशैभर बाढी पहिरोको उच्च जोखिम

काठमाडौं । आगामी चार दिनसम्मका लागि मुलुकभर बाढी परिहोको उच्च जोखिम हुने अनुमान गरिएको छ । आइतबारसम्म वर्षकै धेरै वर्षा हुने चेतावनीपछि ठाउँठाउँमा पूर्वतयारी सुरू गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले ठूलो वर्षापछि बाढी पहिरोको खतरा उच्च हुने भएकाले मुलुकभर सतर्कता अपनाउँदै रेडक्रस लगायतका संस्थालाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । प्राधिकरणका अनुसार संघीय मन्त्रालय, प्रदेश र स्थानीय सरकार राजनीतिक दल तथा गैरसरकारी संस्था एजेन्सी, विकास साझेदार संस्था तथा निजी क्षेत्रलगायतको समन्वयमा विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारी गरिएको छ । मौसमविद्हरूका अनुसार आजदेखि २८ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा मनसुन सुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा। अर्चना श्रेष्ठका अनुसार मनसुन सुरु भएदेखि नै वर्षा भइरहेकाले पानीको सतह माथि आइसकेको छ । जुलाई र अगस्टमा मौसम थप सक्रिय हुने र अबको चार दिन अलि बढी पानी पर्ने उनले बताइन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा वर्षा भइरहेको छ । यस्तै दिउँसोसम्म प्रदेश १, प्रदेश २ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कहाँ कहाँ छ जोखिम ?
बाढी पहिरोको जोखिम रहेको स्थानहरुमा कन्काई, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ । खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको छ। उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका कतिपय ठाउँमा डुबानको सम्भावना छ । प्राधिकरणले यी चार प्रदेशबाहेक प्रदेश नं ५ तथा कर्णाली, सुदूरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ । प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ । नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नम्बर ११४९ चौबिसै घण्टा खुला रहने जनाइएको छ । यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ । जलाधार विज्ञ मधुकर उपाध्यायले यो समयमा नसोचेको स्थानमा समेत भेलरपहिरो आउनसक्ने भएकाले सचेत हुन आग्रह गरे । पानीको स्रोत व्यवस्थापन नभएको र वर्षाको पानी बग्ने बाटो नष्ट भएकाले जथाभाबि रुपमा क्षति पुर्‍याउन सक्ने हुँदा थप सचेत बन्नुपर्ने उनको सुझाव छ ।