Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खबरदारी गर्न कार्यकर्तालाई आग्रह

चितवन । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिने बताएका छन् । जिल्ला पार्टी कार्यालय चितवनमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई अक्षुण्ण राख्ने बताए । कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला । उनले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा जोड दिए । आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको तथा हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन हदैसम्म लचकताका साथ लागि परेको उनले बताए । उनले भने, ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताले मान्नैपर्छ । उनले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताए । पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न उनले कर्ताकर्तालाई आग्रह गरे । संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्शा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरिएको बताउँदै उनले भने, कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौँ । सबै मिलेर गरेका छौँ ।