Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई धरपकड बढाएसँगै उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । उनलाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा गएको प्रहरीको विशेष टोलीले लामालाई मध्यरातमा पक्राउ गरेको हो ।
राति १२ बजेको समयमा लामासँगै अर्का नेता रेशम तामाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतिक संघका अध्यक्ष समेत हुन् । काठमाडौं, भक्तपुर तथा ललितपुरको जिल्लाको इन्चार्ज लामा पक्राउ पर्नुलाई प्रहरीले उपलव्धी मानेको छ । उनकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी छ ।
लामालाई प्रहरीले काठमाडौंमा भएका विभिन्न बम काण्डका योजनाकार रहेको आरोप लगाउँदै आएको छ । गत फागुन १० गते ललितपुरको नख्खुमा भएको विष्फोट, काठमाडौं अनामनगरको घट्टेकुलोको विष्फोट, सुकेधाराको विष्फोटमा ५ जनाले ज्यान गुमाएका छन् ।
विप्लव समूहले विध्वांसक गतिविधि मच्चाएको आरोप लगाउँदै सरकारले विप्लवका गतिविधमा प्रतिबन्ध लगाएपछि विप्लवका नेता कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । फागुन २८ गते सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५ सयभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
काठमाडौं सीतापाइलाका लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् । २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि धेरै गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए ।
एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल