Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज नेकपाको स्थायी कमिटी बैठक, यी हुन् छलफलका एजेन्डा

काठमाडौँ । पार्टी भित्रको विवाद पार्टी विभाजनको अवस्थामा पुगिसकेको नेकपाको स्थायी कमिटी बैठक आज बैस्दैछ । असार १८ गतेदेखि लगातार स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्न थालेको हो । पटक–पटक गरेर दुई साता स्थगित भएको स्थायी कमिटी बैठक आज हुन लागेको हो । यसबीचमा भएका वार्ताहरूमा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा पुग्न नसकेपछि आज हुने भनिएको स्थायी कमिटी बैठकमा पनि दुई खेमा (ओली र प्रचण्ड–माधव) बीच विवाद झन् चर्किने सम्भावना बढेको छ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड–माधव नेपाल समूहको अडानको ओली पक्षले कडा प्रतिवाद गर्ने तयारी गरेको छ । बिहीबार भएको वार्ता दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा गर्न दबाब दिएपछि ओलीले आफूले राजीनामा नदिने अडान राख्दै हटाउने नै हो भने विधिसम्मतरूपमा हटाउन चुनौती दिएका थिए । विधिसम्मत प्रक्रिया सामाना गर्न तयार रहेको उनको भनाइ थियो । ओलीको उक्त जवाफपछि ओली, दाहाल र नेपाल सहभागी हिजोको वार्तामा आगामी भदौभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने र विवाद हल गर्न समझदारी भएको बताइएको छ । ओलीले राजीनामा नदिने अडानपछि दुबै पक्षले बिहीबार साँझ आआफ्ना समूहको बैठक राखेर रणनीति बनाएका छन् । आजको स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामा मागिने र सहमति नभएको सन्देश दिँदै केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने ओलीइतरको समूहको तयारी छ । ओली समूहले भने एजेण्डाभन्दा बाहिरको विषयलाई छलफलमा ल्याएको भन्दै प्रतिवाद गर्ने र केन्द्रीय कमिटी बैठकमा आफ्नो पक्षमा माहोल बनाउन लागिपर्ने तयारी गरेको छ । त्यति हुँदा पनि नसके संसदीय दलको सामना गर्नेसम्मको तयारीमा ओली समूह जुटेको स्रोतको भनाइ छ । नेकपाको ९ सदस्यीय सचिवालय, हाल ४४ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ओली अल्पमतमा देखिएका छन् । ओली अल्पमतमा परेकाले पनि अर्को पक्षले उनलाई पार्टी र सरकारको कार्यकारी भूमिकाबाट हटाउने प्रयास गरेको हो ।