Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंमा ३ सहित थपिए १०० संक्रमित, दुई जनाले ज्यान गुमाए

काठमाडौं । राजधानी काठमाडौंमा ३ सहित देशभर आज १०० जना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १०० जना थपिएसँगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको जानकारी दिए । जसमध्ये १२ हजार ६८४ जना निको भएका छन् भने अब सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको गौतमले जानकारी दिए । आज थपिएका संक्रमितमा काठमाडौंका ३ जना रहेका छन् ।

बुधबार देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको प्रवक्ता डा. गौतमले बताए । अहिले विभिन्न अस्पतलाका आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेका छन् । प्रवक्ता डा। गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय १९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७८, बागमती प्रदेशमा ४ सय २० र गण्डकी प्रदेशमा ३ सय ८९ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ४५, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना संक्रमित उपचाररत रहेका छन् । बुधबार २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ५ सय ५८, प्रदेश नम्बर २ मा २ हजार ३ सय ९७, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार ३ सय ९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार २ सय २४, कर्णाली प्रदेशमा १ हजार ३ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् ।

२ जनाको ज्यान गयो
कोरोना भाइरसको संक्रमणबाट चिनियाँ नागरिकसहित थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । प्रवक्ता डा. गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षीय पुरुषको साउन ६ गते निधन भएको हो । खोकी, उच्च ज्वरु र स्वासप्रस्वासमा समस्या आएपछि उनी साउन २ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । सघन उपचारकक्षमा उपचारकका क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै पोखरामा काम गर्दै आएका एक ४९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि थप उपचारका लागि टिचिङ लगिएकोमा बुधबार निधन भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।