Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानी उच्च जोखिममा, थपिए ४८ नयाँ संक्रमित

काठमाडौं। लकडाउन खुलेसँगै र सवारी साधनहरु सडकमा देखिन थालेपछि राजधानीमा कोरोना संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए । यस्तै भक्तपुरमा १ र ललितपुरका ४ जनामा पनि संक्रमण देखिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३११ जनामा संक्रमण पुष्टि भएको छ भने १२१ जना निको भएका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने कूल निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ । मंगलबार पीसीआर विधिबाट ५ हजार ३२ जनाको कोरोना परीक्षण भएको छ । योसँगै आजसम्म पीसीआर विधिबाट ३ लाख ५३ हजार ३ सय ७ जनाको कोरोना परीक्षण भएको छ । ५ हजार १ सय २९ जना अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् भने देशभरीका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा १५ हजार ३ सय ३१ जना रहेका छन् । सरकारले उपत्यका छिर्ने मुख्य नाकाहरुमा कोरोना परीक्षणका लागि नमुना संकलन गरिरहेको छ । आज दिउँसो ४ बजेसम्म फर्पिङ नाकाबाट ४ सय ५५, थानकोट नाकाबाट २ हजार ९ सय १४ र साँगा ९ सय ४४ गरी ४ हजार ८ सय १३ वटा नमुना संकलन भएका छन् ।