Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परीक्षा नभएको एसईईको एक हप्तामा नतिजा

काठमाडौं । परीक्षा सञ्चालनको मुखैमा आएर रोकिएको एसईईको नजिता एक हप्तामा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।

विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको सदस्य सचिव अर्याल बताउँछन् । ६ चैतका लागि निर्धारित परीक्षा अन्तिम समयमा स्थगित भएको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको थियो ।