Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संक्रमण बढेपछि १२ जिल्लामा निषेधाज्ञा

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेपछि फेरि लकडाउन गर्ने विषयमा प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल थालेका छन् । विज्ञहरुले लकडाउनको विकल्प नभएको सुझाव दिइरहेको बेला कोरोनाका कारण देशका १२ जिल्लामा भने निषेधाज्ञा नै जारी भएको छ । बढ्दो संक्रमणबाट बच्न स्वास्थ्य परीक्षणको दायरा बढाउन तथा लकडाउन फेरि गर्न विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले हिजो प्रमुख प्रतिपक्षी दलका नेतासहित स्वास्थ्य विज्ञसँग बढ्दो कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न चाल्नुपर्ने कदमका विषयमा परामर्श लिएका थिए ।

सरकारले पनि लकडाउन हटाएपछि संक्रमण फैलिएका क्षेत्रमा सील गर्ने तथा जिल्ला, स्थानीय तहमा निषेधाज्ञा जारी गर्ने रणनीति लिएको छ । कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन अहिलेसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ । सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि १२ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् । मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।

सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा संक्रमणको अवस्था हेरेर थप जिल्लाले समेत निषेधाज्ञा जारी गर्नुपर्ने वा नपर्ने निर्णय गर्ने अधिकार जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ । संक्रमणको गति फैलन सक्ने भन्दै अन्य जिल्लाले समेत जिल्लाभित्र हुने गतिविधिमा नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय बनाएका छन् । यस्तै, भारततर्फका नाकासँग जोडिएका सीमा क्षेत्रमा समेत स्थानीय प्रशासनले कडा निगरानी राख्दै आइरहेका छन् । अहिलेसम्म नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरूमध्ये ५९ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना उपचारपछि निको भएका छन् ।