Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रको अस्पतालमा भँडुवा चम्किए

काठमाडौं । सरकारले सशस्त्र प्रहरी अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रण अस्पतालको रुपमा घोषणा गरेपछि त्यहाँको भद्रगोल सुधार्न खटाइएका तत्कालिन एसएसपी हरिशचन्द्र अधिकारीको डिआईजीमा बढुवा भएपछि उनलाई अहिले सुर्खेत सरुवा गरिएको छ । विगतमा सशस्त्रभित्र डाक्टरलाई व्यवस्थापनको जिम्मा दिने वा इन्फेन्ट्रितर्फबाट व्यवस्थापनको जिम्मेवारी दिलाउने उपयुक्त अधिकृतको खोजी गर्ने भन्ने विवाद नचलेको होइन । यस पटक सशस्त्र प्रहरीको अस्पताल सुधार गर्न अधिकारीको टोली सक्रिय भयो । त्यही टोलीले चीनको बुहानमा शुरु भएको कोरोना उपचार तथा रोकथाम पद्दतिको अनुशरण गर्दै सशस्त्र प्रहरीको अस्पताललाई सुधारतर्फ लग्यो । नेतृत्वको यो निर्णयलाई अस्पतालभित्र भद्रगोल मच्चाउँदै आएका तत्वहरुले रुचाएका थिएनन् ।

डाक्टरलाई व्यवस्थापनको जिम्मा दिने विगतको गलत परम्परा हटाउन तत्कालका निम्ति आईजीपी सफल भए पनि यतिखेर भने अस्पतालमा पुरानै रोग दोहोरिएको छ । डाक्टरले विरामी जाँच्ने हो तर चेकमा सही गर्ने होइन । यो विषय सशस्त्रमा मात्र होइन अन्य संघ संस्थाहरुमा पनि बेलाबखत चर्चामा आउँछ । हरिशचन्द्र अधिकारीको टिममा डा. रुपक महर्जन, डिएसपी उमेश कँडेल, लेखा अधिकृत सन्तोषकुमार चन्द, प्राविधिक निरीक्षक ओमबहादुर काफ्ले, देवराज सुनुवारको सहभागिता थियो । १ सय १० जनासम्म कोरोना संक्रमितको उपचार हुने बलम्बु अस्पताललाई सुधार्ने क्रममा अधिकारीले चीनको बुहान क्षेत्रको सिको त गरे तर त्यतिखेर उपचारका लागि भर्ना हुने संक्रमितहरुको खाना तथा खाजाको प्रबन्ध गर्ने अवस्था क्यान्टिनको थिएन । त्यही समयमा बलम्बुस्थित डिबी भेन्युलाई प्रतिस्पर्धाका आधारमा क्यान्टिन सञ्चालन गर्ने जिम्मेवारी दिइयो ।

पुरानो टोलीलाई त्यो पाच्य भएन । प्रतिस्पर्धाबाट भेन्युले प्राप्त गरेको टेण्डरअनुसार, विरामी र अस्पतालका कर्मचारीसमेत गरी झण्डै १ सय ३० जनासम्मले क्यान्टिनमै खाना खाने अवस्था आयो । तर त्यसको सम्पूर्ण अधिकार सशस्त्रलाई थिएन । त्यहाँ स्वास्थ्य मन्त्रालयल, नेपाली सेना, नेपाल प्रहरी र चिकित्सकहरुको समूह समेतले सहमित जनाउनु पथ्र्यो । अस्पतालको आवश्यकतालाई ध्यान दिँदै त्यो टोलीले क्यान्टिन सञ्चालन गर्ने अनुमति डिभी भेन्युलाई दिनासाथ छटपटाउन थालेको आन्तरिक गिरोह अधिकारीको टिमविरुद्ध यतिखेर सडकमा आएको छ र संयोगवश अस्पताल सञ्चालनको जिम्मेवारी डाक्टरले नै प्राप्त गरेका छन् ।

सीमा सुरक्षाको गहन जिम्मेवारी पाएको त्यो संगठनमा यसपटक डिआईजीदेखि तल्लो दर्जासम्मका कसैले पनि दोहोरिएर एकै ठाउँमा बस्न पाउने अवस्था रहेन । सबै ठाउँमा नयाँ अनुहारहरु खटेपछि सीमा क्षेत्रको स्थिति सुध्रिने आशा नेतृत्वले गरिरहेको छ । आन्तरिक रुपमा आवश्यकजनशक्ति अपुग भए पनि आफूले विगतमा गर्दै आएको औद्योगिक सुरक्षा र भीआईपीहरुको सुरक्षाको जनशक्तिलाई कट्टा गर्दै सीमा क्षेत्रमा खटाएको सशस्त्रले अस्पतालको व्यवस्थापनमा देखापरेको हुँडार प्रवृत्तिबाट भने जोगिनु पर्ने अवस्था सिर्जना भएको छ ।