Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिन्धुपाल्चोक पहिरोबाट १८ जनाको शव निकालियो

सिन्धुपाल्चोक । सरकारी बेवास्ताका कारण पुरिन बाध्य भएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो । लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रूपैयाँका दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।