Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेपछि केही शान्त देखिएका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यादेश निर्धारण गर्ने बताइएको छ।
गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो। महासचिव बिष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समितिमा भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य छन्। कार्यदलको कार्यादेशका लागि सचिवालय बैठक बस्नुपर्ने माग सचिवालय सदस्यहरूले गरेपछि बैठक बोलाइएको हो।
त्यस्तै बैठकमा सरकारको समीक्षा गर्दै मन्त्रिपरिषद् पुनर्गठनको विषयमा समेत छलफलको तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । ओलीले प्रधानमन्त्री भइसकेकाबाहेकका सचिवालयमा रहेका नेतालाई समेट्ने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयलाई छलफलमा ल्याउने तयारी गरेका छन् ।
प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्रीसहितको मन्त्रालय दिन कानूनी परामर्श लिएको बताइएको छ । त्यस्तै ओली, प्रचण्ड र नेता नेपाल तीनै वटा गुटका तर्फबाट बराबरी मन्त्री बनाउने तयारी रहेको बताइएको छ । अब प्रधानमन्त्री ओलीले नेपाल समूहबाट सुरेन्द्र पाण्डे, भीम रावल तथा प्रचण्ड पक्षका जर्नादन शर्मा, पम्फा भूषाल र प्रभु साहलाई मन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल