Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो भएपछि कहाँबाट घट्छ महिला हिसा ?
इटहरी । एउटा कुहिएको आलुले सिंगो बोरो सखाप बनाएझैं एक दुई जना सुरक्षाकर्मीको बदमासीले सिंगो संगठन बदनाम हुन्छ । ईलाका प्रहरी कार्यालय ईटहरीले बालिका बलात्कार गर्ने क्रसर उद्योगमा कार्यरत एक पुरुषलाई कारबाही नै नगरी उन्मुक्ति दिइएको पाइएको छ । मुद्दा फाँटका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले पीडित बालिकाको उजुरी नै नलिई पीडकलाई उन्मुक्ति दिएको खुलेको हो । एक महिनाअघि भोजपुर स्थायी घर भइ इटहरी २० तरहरामा आफ्नी फुपुको घरमा बस्दै आएकी ती बालिकालाइ धनकुटाको क्रसर उद्योगमा कार्यरत विकास लामाले बलात्कार गरेका थिए । फुपुको दवावमा पीडित बालिकाले तत्काल घटना लुकाउन बाध्य भइन् । बालिकाको फुपुको घरमै आउने जाने, बस्ने, गरेका लामा फुपुसँगै हिड्डुल समेत गर्दै आएका थिए । लामा फुपुकै घरमा आउने क्रममा ती बालिका बलात्कृत भएकी हुन् । पछि बालिकाको गर्भ बसेको थाहा पाएर फुपुले पीडक लामासँग मोटो रकम लिएर बालिकाको ५ महिना १५ दिनको गर्भ फ्याक्ने काम भएको पाईएको छ। गर्भपतन हुने औषधी खाएपछि शरीरले थाम्न नसक्ने गरी रगत बग्न थालेपछि बालिका पटकपटक आफन्त लिएर पीडक लामा, फुपु राजकुमारी राई र मेडिकल विरुद्ध उजुरी गर्न इलाका प्रहरी कार्यालय इटहरी गएकी थिइन् । त्यहाँको मुद्दा फाँटका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठलाई मुद्दा दर्ताका लागि निवेदन लिन अनुरोध गरेको भएपनि पीडक लामाको पक्षमै लागेर प्रहरीले बालिका उजुरी दर्ता नगरेको पाईएको छ। उता इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने पीडितको जाहेरी रितपूर्वक नभएकाले मुद्दा दर्ता नगरेको बताएका छन् । पीडकको वतन तथा अन्य विवरण नभएकै कारण दर्ता गर्न नसकिएको भण्डारीको भनाई छ। स्रोतका अनुसार प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठ र पीडक लामाबीच आर्थिक चलखेल भएका कारण मुद्दा दर्ता नगरिएको हो । प्रहरीले कोरोनाको कारण थुनुवा राख्न नमिल्ने, पीडितले पुनः जाहेरी दिन नआएकोलगायतका बहाना बनाएर पन्छिन खोजिरहेको छ ।