Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्षतिपूर्ति माग गर्दै शवसहित प्रहरी कार्यालय घेराउ

कञ्चनपुर । महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासीले दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै शनिबार दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । मृतक बमको शवसहित क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । महाकाली–६ मा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा बमको मृत्यु भएको थियो । बम महाकाली–१ का बासिन्दा हुन ।
स्थानीयवासीले प्रहरी कार्यालय घेराउसहित नाराबाजी गर्दै सडक अवरुद्ध गरेका छन् । मोटरसाइकलमा सवार अर्का कुमार बुढा घाइते छन् । भारतीय नम्बरको युके०६एएफ ८४२६ नम्बरको मोटरसाइकल युके०६ए०६ए ५८१२ नंको मोटरसाइकलसित ठोक्किएको थियो । मोटरसाइकल ठोक्किएपछि बम बेहोस भएका थिए । उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको थियो । उनीसँगै मोटरसाइकलमा सवार बुढाको खुट्टा भाँचिएको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका युवकलाई क्षतिपूर्ति माग्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि अहिले छलफल शुरु भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । इलाका प्रहरी कार्यालय दोधारामा मृतक युवकका आफन्तसहित जनप्रतिनिधि र प्रहरीबीच समाधानका लागि छलफल शुरु गरिएको छ ।
छलफलमा नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजाली, महाकाली–१ का अध्यक्ष अर्जुनदत्त भट्ट, दिलबहादुर सिंह, प्रहरी निरीक्षक बमलगायत छलफलमा बसेका छन् । स्थानीयवासीले मृतक युवकका परिवारका लागि सात लाख क्षतिपूर्तिको माग गरेका छन् ।