Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोविन्द केसीको अनशन एक हप्ता स्थगित

काठमाडौं । स्वास्थ्य क्षेत्रको विकृति हटाउने माग गर्दै निरन्तर आन्दोलनरत चिकित्सक डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन् । हाल जुम्लामा रहेका केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक हप्ता पछि सारेको जानकारी दिएका छन् । गत साउन ११ गते नै आफ्नो ४ बुँदे माग सार्वजनिक गरेका केसीले ती माग पूरा नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए । केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रम संचालन गर्न, प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न र गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन शुरू गर्न माग गरेका छन् । त्यस्तै प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि माग गरेका छन् ।
२०७५ साउन १० गते आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न, चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्न पनि केसीको माग छ । उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न र बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिश्‍चित गर्न पनि माग गरेका छन् ।