Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

याे विकासकाे कुन माेडल हाे प्रधानमन्त्रिज्यू ?

आखिर अहंकारले मान्छे गल्छ । नेतामा अहंकार र दम्भ भयो भने त्यसले आफू मात्र होइन पार्टी नै बदनाम गर्छ । नेकपाको नेतृत्वले सामूहिकतालाई लत्याउँदै गुटबन्दीबाट शासन गरेको यो अवधिमा सफलता कतै पाएन । त्यही रोगले कोभिड १९ को विरुद्ध लड्ने जनमत बढाउन सकेन । राजश्व छल्ने साहुजीले सरकारलाई खर्च गर्ने शैलीप्रति शंका गरे । खर्च गराई, विश्वास गर्न लयाक भएन । जोसँग यो विषय जोडियो उसले खण्डन गरेन लुट्न पनि छाडेन । अर्थमन्त्रीले साहुजीहरुको सेवा गरे, साना नाङ्लेलाई डसेकै छन् । प्रम ओली र उनको भजन भण्डालीको सञ्चालकले लोकतन्त्र आफैंले ल्याएको सम्झिए । जबकि त्यो समूहमा नायक राजतन्त्र विरुद्धको आन्दोलनलाई बयलगाडासँग जोड्थे । कम्युनिष्टको नेता कला, संस्कृतिको संरक्षक हुनुपर्छ । तर जनताको भावनाप्रतिको खेलवाड गर्दैन । तर यस पटक कम्युनिष्टको नाउमा सामन्तवादी सोचलेले नै संकटको बेला समस्यामा एकता दर्शाउने अवस्था भएन । ओली गुट र उनको टिमलाई कसैको सल्लाह सुझाव दिएर पच्दैन । प्रम आफैं सर्वविज्ञ छन् । उनले राखेका तालुकदार सल्लाहकारहरु आफ्ना दलाल भन्दा परका छैनन् । के यस्तै दन्तबजानका लागि नेकपाको एकता थियो ?
एकता जरुरी छैन र थिएन भने एकता किन गरेको ? कसको स्वार्थ र कसलाई बहुमत प्राप्त प्रम बन्ने लालसाले माओवादीसँग मिलेको ? पार्टी मिलेपछि अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध ईश्वर पोखरेल जस्ता स्वार्थी, पदलम्पट र भ्रष्टलाई भुक्न किन लगाएको, प्रेस सल्लाहकारमार्फत् कहिले माधव नेपाल त कहिले झलनाथ त कहिले प्रचण्डविरुद्ध किन बक्न लगाएको ? ओलीलाई महादेव पशुपतिनाथ मानेर राष्ट्रको ढुकुटी सक्न के गरियो ? सेक्युरिटी प्रेस खरिद, ओम्नी समूहको औषधि खरिद, सेनाको औषधिमात्र होइन हतियार खरिद, थामसेर्कुलाई नेपाल ट्रष्ट र राष्ट्रिय निकुञ्जको जमिन सुम्पने कार्य समृद्धि र विकासको कुन शीर्षकसँग मिल्छ ? प्रमले भन्नु परेन ।
राज्यको ढुकुटी सकेर मुसा चरित्रका पदलम्पटहरुको स्वार्थ पूरा गर्नु नै जनताको बहुदलीय जनवाद भित्रको दर्शन भएकोले जनताको जनवादलाई मान्दिन भन्ने ईश्वरहरुले छूट पाए । होइन भने विधि, प्रक्रिया, सिद्धान्त, विचार र शैलीको गफ किन गर्नुप¥यो, कम्युनिष्टको काम समृद्धि, विकास, सुशासन लागू गर्ने हो । ओली सरकारले कहाँ देखायो भ्रष्टाचार नियन्त्रण ? वायु सेवा निगमको वाइडवडी काण्ड किन दब्यो, कसले हो यो दबाएको ? बिचौलियाहरुको नियुक्ति किन भयो ? विदेश खटेका दलाल राजदूतहरुले नेपालीको बिचल्ली हुँदा उद्दार कति गरेका छन् ? देशभित्रका कोरोना संक्रमितको उपचारमा समेत सोर्सफोर्सको झमेला मान्छले सहेको छ । प्रेसले साथ नदिनुको कारण नै सरकार जनताको भएन, पार्टीको रहेन भनेर हो । ओलीको मण्डलीभित्र पाक्ने खिचडी माधव र झलनाथले कति सहे ? वामदेव भनेको त इख नभएको मान्छे, विष नभएको सर्प जस्तै हुन् । चुनाव हार्ने उनी बिना सांसदको प्रम चाहियो उनैलाई ।
सरकार शुरुदेखिनै चुक्यो । उपप्रम ईश्वर पोखरेल आफैं कोरोना नियन्त्रण उच्चस्तरीय समितिको नेतृत्वमा थिए । तर उनको ध्यान ओम्नीको सामानमा केन्द्रीत भयो । अहिले उनीे सेनालाई आक्रमण गर्दैछन् । फास्ट ट्य्राक राजनीति नेतृत्वले विवादको सामाधान गर्दैन । सीमा सुरक्षा राष्ट्रको सुरक्षा गर्ने सेना बाटो बनाउने ठेक्का लिन्छ, मेडिकल कलेज खोज्छ, व्यापार गर्छ ईश्वरले त्यो सेनाको जनशक्ति कहाँ प्रयोग गरे ? आर्थिक मामिलाका विषयमा यी जोडिनुको कारण बदनाम कमाएका छन् । उनै प्रधामन्त्री केपी ओलीलाई उचाल्ने र प्रचण्डलाई नियोजित रुपमा खुइल्याउने काम मात्र गरेका छन् किन ?
पार्टीको आन्तरिक द्वन्द्वमा खेल्ने र आफ्नो स्वार्थ पूरा गर्ने विदेशी तत्वको मित्र शक्ति सुभाष नेम्वाङ, ईश्वर पोखरेल, अग्नि खरेलहरु नै पार्टीमा भाडतन्त्र निम्त्याउन सफल छन् । प्रधानमन्त्री ओलीलाई देवत्वकरण गर्ने यिनै हुन् । कम्युनिष्ट पार्टी गरिबी र अभावमा ग्रस्त जनताको हो कि बिचौलिया र दलालको सेवक हुने हो ? वर्तमान सरकारले सुकुम्बासीमाथि देखाएको दानवीय स्वरुप माडिमा देखियो । भोकमरी र उपचार नपाएर जीवन गुमाएका सूर्य तामाङ, राजु सदा, विश्वेश्वर यादवको हालतले जनता भोकै मर्दैन भन्ने प्रमको भनाई कहाँ पुग्यो ?
देश राष्ट्रिय समस्यामा जकडिएको छ । नेतृत्व पदीय स्वार्थ र कलहमा लिप्त भयो । सरकारी निवासमा पार्टीको बैठक र गुटको भेला राख्दा नेकपाको इज्जत कहाँ पुग्यो ? प्रधानमन्त्री देशको प्रधानमन्त्री हो कि गुटको नेता ? राष्ट्रपति कसको राष्ट्रपति हुन् ? जनताले प्रश्न गर्छ जवाफ पाउँदैन किन ?