Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनले भन्यो अरुणाचल हाम्रो हो, अब के हुन्छ ?

बीबीसी। दुई छिमेकीबीचको सीमा विवादले उग्र रुप लिइरहेको बेला फेरि अर्को बखेडा थपिएको छ । यसले दुई देशबीच मात्रै होइन नेपाललाई समेत समस्या पर्ने निश्चित छ । दुई छिमेकीको सम्बन्ध बिग्रँदा बीचमा रहेको नेपाललाई पक्कै सहज हुँदैन । अरुणाञ्चल प्रदेशको सीमानाबाट चिनियाँ सेनाले ५ जना भारतीयहरुको अपहरण गरेको भन्ने भारतको आरोपप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ । भारतले आफ्नो दावी गर्दै आएको सो क्षेत्रलाई नै चीनले भारतको होइन भनिदिएको छ । चीनले अरुणाञ्चललाई भारतको हिस्सा मान्न नसकिने बरु यो चीनकै दक्षिणी तिब्बतको क्षेत्र भएको प्रतिक्रिया दिएको छ । पछिल्लो समय भारत र चीनबीच सिमाको विषयलाई लिएर तिब्र मतभेद हुँदै आएको छ । भारतका केन्द्रीय मन्त्री किरेन रिजिजुले भारतीय सेनाको अपहरण भएको जनाएका थिए । उनले सामाजिक सञ्जालमा यस्तो प्रतिकृया दिएसंगै चीनले कडा प्रतिवाद गरेको हो ।
चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता चाओ लिजियाङले भने– चीनले कुनै पनि हालतमा कथित अरुणाञ्चल प्रदेशलाई भारतको भनेर मान्यता दिन सक्दैन । यो चीनको दक्षिणी इलाका हो । हामीलाई भारतीय सेनाले यस क्षेत्रबाट ५ जना हराइरहेको भन्ने प्रश्नसहितको सूचना पठाएको छ, तर हामीलाई अहिले यो विषयबारे केही पनि सूचना छैन ।
अरुणाञ्चल प्रदेशको माथिल्लो सुबानसिरी जिल्लाबाट चिनियाँ जनमुक्ति सेनाले ५ भारतीय नागरिकको अपहरण गरेको दावी भारतीय सेनाले गरेको छ । भारतीय सेनाको सो दावीलाई भारतीय केन्द्रय मन्त्री रिजिजुले ट्वीट मार्फत चीनको जवाफ पर्खिएको जनाएका थिए । उनको जिज्ञासाको जवाफमा चीनले अरुणाञ्चल माथिको भारतीय दावा माथि नै प्रश्न उठाएको छ ।
अरुणाञ्चलको सवालमा एक सेवा निवृत्त भारतीय सैनिक जनरलले नाम नछाप्ने सर्तमा बीबीसीसँग कुरा गर्दै भने– ‘अरुणाञ्चलप्रति चीनको दृष्टिकोण कुनै नौलो होइन । यस पहिले पनि चीन अरुणाञ्चललाई आफ्नो हिस्सा मान्दथ्यो । चीनले पहिले नै भनिसकेको थियो कि त्यहाँ उसले म्याकमोहन लाइन अनुसरण गर्दैन । यही कारण तिब्बती धर्मगुरु दलाई लामाको भारत भ्रमणबारे चीन जहिले पनि नकारात्मक हुने गरेको छ । उनले भने– सामान्यता भारत दुई देशबीचको सीमानाबाट करिब ७०–८० किलोमिटर पछाडि आधार शिविर खडा गर्ने गर्दथ्यो, तर १९८६–८७ देखि भारतीय सेनाले सीमानासँगको यो दूरी आफ्नो भूमितर्फ सार्न सुरु गरेको छ ।