Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्यापारीकाे भातभान्सामा क–कसकाे पेलान

प्रजातन्त्रको पर्याय मानिने काँग्रेस अहिले गुटको राजनीतिमा हराएको छ । पार्टी भन्दा गुट बलियो बनाउन व्यापारी र तस्करको साथ लिने प्रतिस्पर्धा काँग्रेसभित्र चर्किएको छ । सभापति पद एउटा छ, आकांक्षी एक दर्जन, त्यो पनि प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसमा । पुरानो पुस्तालाई उमेर हद नलाग्ने, नयाँ पुस्ताले स्थान नपाउने यस्तै गाईजात्रामा चलेको छ, नेपालको राजनीति । प्रसङ्ग नेपाली काँग्रेसको चौधौँ महाधिवेशनको तयारीसम्बन्धी हो । दोस्रो पुस्ताका नेताहरू डाक्टर शेखर कोइराला, कृष्ण सिटौलाहरूको गठबन्धनलाई बाइपास गर्दै व्यापारी लगानीकर्ता र ठेकेदारको लहलहैमा लागेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालाहरूलाई विनोद चौधरीले आफ्नै होटल भिभान्तामा व्यवस्था गरिदिएको भात–भान्सा पच्न नपाउँदै काँग्रेसभित्र रडाको मच्चिने स्थिति पैदा भएको छ ।

शेरबहादुर देउवाले श्रीमती आरजु देउवाको पार्टी नतृत्वमा प्रवेश गराउन सके मात्र दोस्रो चरणमा सभापति पदको लोभ नगर्ने सङ्केत देखाए पनि उनको पक्षमा लागेका युवानेताहरू बालकृष्ण खाँड डा. प्रकाशशरण महत, रमेश लेखकहरूको बारेमा के सोचियो ? यही प्रश्नले होटल भिभान्तको गठबन्धन भत्काउने अवस्था सिर्जना भएको हो ।

उता, राजनीतिक चरणदेखि देउवा पक्षकै वकालत गर्दै आएका विमलेन्द्र निधिले यस पटक सभापति पदमा आफूलाई सघाउन शेरवहादुर देउवा, रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई भेट गरेको थाहाँ हुँदाहुँदै चौधरीको होटलमा जम्मा भएका नेताहरूले डा. शशांकलाई सभापति, पौडेललाई राष्ट्रपति र देउवालाई प्रधानमन्त्रीको पद दिएर गरिएको सम्झौता कति टिक्ने हो, ठेगान छैन । कृष्ण सिटौला, नवीन्द्रराज जोशी, उदयसमशेर राणा, रामकृष्ण चित्रकार, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, गुरुराज घिमिरे, चन्द्र भण्डारीहरू जस्ता युवानेताहरूको काँग्रेसमा स्थान नभएकाले व्यापारी र ठेकेदारहरूको भात–भान्सामा रमाएर सभापति देउवा उधारो प्रम पदको सहमतिमा पुगेका हुन् ? यो प्रश्नले अहिलेको रडाकोलाई सङ्केत गर्दछ । किनकि काँग्रेसमा क्रियाशील सदस्यता वितरण, नवीकरण र नवप्रवेशीहरूको व्यवस्थापन भएको छैन ।

विमेलेन्द्र निधिले मधेसको मत कब्जा गरे भने व्यापारी र ठेकेदारहरूको योजनामा चलेका देउवालाई ठूलो झड्का लाग्न सक्छ । उनी काँग्रेसमा विचारका धनी प्रदीप गिरीको आड नपाईकन सभापति पदका निमित्त हामफालेका होइनन् । वंश परम्परामा पार्टी नेतृत्वमा पुग्ने संस्कारलाई नेताहरू डाक्टर शशांक कोइराला, प्रकाशमान सिंह, विमेलेन्द्र निधि, सुजाता कोइरालासम्मको हैसियत काँग्रेसमा सङ्घर्ष गर्दै आएका युवानेताहरूले नबुझेका होइनन् । यस पटक कृष्ण सिटौला र शेखर कोइरालाको समूहलाई कार्यकर्ताहरूले साथ दिए भने काँग्रेस सप्रिन सक्छ । माहोल हेरेर विमलेन्द्र निधि र प्रकाशमान सिंहको परिवेश बदलिन पनि सक्छ । पुरानो पुस्ता काँग्रेसमा मात्र होइन, नेकपा, जसपा, राप्रपामा समेत अपच भएको छ । भ्रष्टाचार, कमिसन, दलाली र बिचौलियाहरूको वकालत गर्ने यो पुस्ताले राजनीतिक आदर्श र सिद्धान्त त्यागेकै छ, व्यवहारिक पक्षसमेत लज्जित हुने गरी बद्नामी कमाएको छ ।

कम्युनिस्ट सरकारको नीतिगत लुटको विरुद्ध लड्न त परको कुरा काँग्रेसबाट महँगीका विरुद्ध समेत सडक प्रदर्शन भएको जनताले देखेन । कोरोना कहरको यो अवधिमा सरकारका कमीकमजोरीहरूलाई योजनाबद्ध रूपमा जनतामा पु¥याएर भावी रणनीति तयार गर्नुपर्ने त्यो काँग्रेस देशको राजस्व छल्ने, आफू विश्वको धनाढ्य चौधरीहरूको पछि लाग्दा शेरबहादुर देउवालाई आफूले पाएको अपजस हट्छ भन्ने लागेको हो ? यही कारण र त्यो व्यवहारले काँग्रेसका संस्थापक स्वर्गीय बीपी कोइरालाको सिद्धान्त, गणेशमानको आदर्श, कृष्णप्रसादको त्यागको झोली थापेर अहिलेसम्म शेरबहादुर देउवा रामचन्द्र पौडेलहरूले पदको भिख मागेका हुन् । के काँगे्रसमा यिनै प्रधानमन्त्री, यिनै राष्ट्रपति, यिनै सभापति बन्नका निमित्त युवा पुुस्ताले सङ्घर्ष गरेको हो ? यस्तै स्थिति नेकपामा पनि भएकाले झन्डै दुई तिहाइको सरकार दलाल र विचौलियाहरूको आम्दानीको स्रोत बनिरहेको बुझ्नु पर्दैन ?