Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वामदेवको सिफारिश भ्याउने क्याविनेटले कुलमानको प्रस्ताव ल्याउनै भ्याएन !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सिफारिस भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । तर सोही क्याविनेटले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि नियुक्ति दिने अपेक्षा गरिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी अड्चन देखाउँदै प्रस्तावमाथि छलफल नै हुन नदिएको स्रोतको दाबी छ ।
गएको फागुन १४ र यही भदौ १८ गते नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा रिक्त रहेको स्थानमा पठाउने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयन नगर्दा नेकपामा विवाद बल्झिएको थियो। पार्टीको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभा लैजाने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गराएका हुन्। डा युवराज खतिवडाको २ वर्षे कार्यकाल सकिएपछि राष्ट्रिय सभाको एक सीट गत फागुन २१ देखि रिक्त थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति नियुक्ति गरेपछि मात्र गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिन पाउने छन्। नेकपा सचिवालयका ९ सदस्यमध्ये गौतम मात्र संसद बाहिर थिए। सचिवालयका ९ मध्ये ६ जना प्रतिनिधि सभाको सदस्य छन्। गौतमसहित रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ पनि राष्ट्रिय सभाको सदस्य भएका हुन्। राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने गौतम नेकपाको वरिष्ठ नेता हुनेछन्।