Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसिड आक्रमणकारीविरुद्ध अध्यादेश ल्याउने तयारी

काठमाडौं। महिला हिंसाको डरलाग्दो पाटोको रुपमा रहेको एसिड आक्रमण विरुद्ध सशक्त रुपमा उत्रिने तयारी स्वरुप अध्यादेश ल्याउने तयारी भएको छ । एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न सरकारले अध्यादेश ल्याउने भएको हो। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अध्यादेशको मस्यौदा निर्माण गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि एसिड आक्रमणका पीडितहरुसँग बालुवाटारमा छलफलसमेत गरेर कानून ल्याउने बचन दिएका थिए। सोमबार बसेको मन्त्रिपरिषद्ले कानून मन्त्रालयलाई अध्यादेशको मस्यौदा निर्माण गर्न निर्देशन दिएकाले सरकारले यो अध्यादेश छिटै ल्याउने तयारीमा रहेको बुझिएको छ। संसद नभएको अवस्थामा सरकारले आवश्यक कानून अध्यादेशमार्फत ल्याउन पाउने संवैधानिक व्यवस्था छ। मन्त्रिपरिषदले सिफारिस गरेपछि राष्ट्रपतिले अध्यादेश जारी गर्नुपर्ने संविधानले व्यवस्था गरेको छ। प्रधानमन्त्री ओलीले गएको बिहीबार बालुवाटारमा १२ जना एसिड पीडितसँग भेट गरेका थिए। त्यस क्रममा गृहमन्त्री, कानुनमन्त्री, गृह, अर्थ र शिक्षा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसमेत सहभागी थिए। सरकारले अध्यादेशमार्फत कानून बनाएर एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गर्न लागेको छ।