Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल र इजरायलबीच श्रम सम्झौता हुँदै, केयर गिभरको तीन महिने तालिम लिएर रोजगारीमा जान पाइने (अरू के छ प्रावधान ?)

काठमाडौं । नेपालीहरुको आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको इजरायलले नेपाली श्रमिक लैजाने भएको छ । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र) मा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो ।
सम्झौतापत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा।अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी अस्खेनाजीले हस्ताक्षर गर्ने तेलअभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले जानकारी दिए । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले इराजयलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको थियो । बैठकले श्रम सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा।शाक्यलाई अख्तियारी दिने निर्णयसमेत गरेको थियो । दुई देशबीच श्रम सम्झौता भएपछि सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । सम्झौतापछि नेपाली श्रमिकले इजरायली नागरिकसरहको सेवासुविधा र संरक्षण पाउने छन् । विभिन्न चरणमा भएको द्विपक्षीय छलफलका क्रममा इजरायल विशेष गरी केयर गिभरमा नेपाली श्रमिक लैजान सकारात्मक देखिएको थियो ।

इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयर गिभर ल्याउने विषय टुङ्गोमा पुग्दै गर्दा त्यहाँस्थित नेपाली दूतावासले थप सक्रियता देखाएको छ । इजरायलमा नेपाली केयर गिभर लैजाने पूर्वसन्ध्यामा इजरायल सरकारका प्रतिनिधि र दूतावासका उच्च अधिकारीले कार्यस्थल एवं कार्य वातावरणको जानकारी लिने उद्देश्यले केही क्षेत्रको स्थलगत अनुमगन गरेका छन् । केही दिनअघि राजदूत शाक्यले नेपाली केयर गिभरले काम गर्नुपर्ने नर्सिङ होमको स्थलगत भम्रण गरेकी थिइन् । भ्रमणमा राजदूत शाक्यसँगै नेपालका लागि नवनियुक्त इजरायली राजदूत हानन गोदर, नेपाली दूतावासका द्वितीय सचिव घिमिरे, इजरायलको स्वास्थ्य र श्रम मन्त्रालय, अध्यागमन कार्यालय तथा इजरायलमा कार्यरत विदेशी श्रमिकको हकहितमा क्रियाशील संस्थाका प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ । यसैबीच नेपाली दूतावासले इजरायलमा जान चाहनेले आफूलाई सम्पर्क गर्नुहोला भन्दै ठगी गर्ने मनशायका साथ सामाजिक सञ्जालमा केही व्यक्तिले गलत सूचना फैलाएकामा ध्यानाकर्षण भएको जनाएको छ । यसअघिको जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका व्यक्तिले मात्र इजरायलमा रोजगारीको अवसर पाउने दूतावासले जनाएको छ ।

केयर गिभरमा छनोट हुनका लागि अनमी वा अन्य शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी तीनमहिने केयर गिभर तालीम लिएको हुनुपर्नेछ । यस्तै लिखित तथा अन्तर्वार्ता दुवैमा अङ्ग्रेजी भाषा उत्तीर्ण, निश्चित उमेर, तौल र उचाइ, स्वास्थ्यावस्था ठीक तथा कुनै आपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति स्वच्छ प्रतिस्पर्धाबाट छनोट गरिने दूतावासले जनाएको छ । त्यस्तै यसअघि इजरायल गएका व्यक्ति उम्मेदवार हुन नसक्ने पनि दूतावासले प्रष्ट पारेको छ । छनोट प्रक्रियामा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका अलावा निजी क्षेत्र वा अन्य व्यक्तिको संलग्नता नहुने भएकाले कुनै हल्लाको पछाडि नलाग्न दूतावासले आग्रह गरेको छ ।