Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फिरङ्गी तन्त्र : कुमार फुदुङ र युवराज खतिवडाहरू

राष्ट्रवादी विद्यार्थी मण्डलको स्थापनाकालका सदस्य युवराज खतिवडा पछिल्लो पटक नेकपाको पार्टीगत निर्णयकै कारण सरकारबाट बाहिरिनुपरेपछि अमेरिकाको लागि नेपाली राजदूतमा प्रस्ताव गरियो । त्यसपछि नेकपाभित्र र बाहिर पक्ष–विपक्षमा बहस सुरु भएको छ । को हुन् यति शक्तिशाली युवराज खतिवडा ? जो राजाको शासनकालदेखि बहुदल र कथित गणतन्त्रसम्म सधैँ सत्ताको केन्द्रमा छन् । प्रश्न युवराज खतिवडाको मात्र किन ? विगतमा १० वर्षको कथित जनयुद्ध गरिएकोे भनिने सेनासँग भिडन्त गरेको पूर्वमाओवादीले सैनिक जनरल कुमार फुदुङलाई कसरी सांसद बनायो ? राजतन्त्रविरोधी माओवादीले सूर्यबहादुर सेन ओली जस्ता पूर्वअञ्चलाधीश भित्र्याउनुपर्ने बाध्यता के हो ? त्यति मात्र होइन, अमेरिकी जासुसी संस्था सीआईए एजेन्ट ऋषिकेश शाह पञ्चायतमा भए पनि उनी मानवअधिकारवादी भइरहे ? रमेशनाथ पाण्डे दरबारमा भए पनि कान्तिपुर र नयाँ पत्रिका जस्ता घोर राजतन्त्रविरोधी, हिमाल खबरपत्रिका मात्र होइन, काँग्रेस, एमाले र पूर्वमाओवादीलाई उनी किन प्रिय लाग्दछन् ? केशरजङ्ग रायमाझी, राजेश्वर देवकोटा, टङ्कप्रसाद आचार्यलाई राजावादी भन्नेहरूले यी पात्रहरूलाई किन भन्दैनन् ? पछिल्लो चरणमा कोमल ओली, ब्रिजेशकुमार गुप्तादेखि हृदयेश त्रिपाठीसम्म कसरी कमरेड बने ? यस कारण प्रश्न युवराज खतिवडा या राजतन्त्र र गणतन्त्रको होइन, इन्डो–पश्चिमी इसाई फिरङ्गी तन्त्रको हो ।

सीआईएको योजनाअनुसार इन्डो–पश्चिमी मिसनमा परिचालित दलालहरूलाई चोख्याउने र इमानदार देशभक्तहरूलाई प्रहार गर्ने मिसनमा बहुराष्ट्रिय कम्पनीको विज्ञापनबाट चलेका दलाल सञ्चार संस्था, कथित सञ्चारकर्मीहरू, नागरिक समाज भन्नेहरू पनि युवराज खतिवडा प्रवृत्ति जन्माउनमा कम जिम्मेवार छैनन् । यसर्थ युवराज खतिवडाको विषयमा तथाकथित भुइँफुट्टा पत्रकार र बुद्धिजीवीहरूलाई आलोचना गर्ने अधिकार छैन । कान्तिपुर, नयाँ पत्रिका, नागरिकलगायत नेपालका ठूला टेलिभिजन र सञ्चार संस्थामा यस्तै गुप्तचरहरूलाई स्तम्भकार र विज्ञका रूपमा अगाडि सारेर अहिले पनि जनतामा भ्रम दिने काम निरन्तररूपमा भइरहेको छ । साहित्यकारका नाममा नेपाल राष्ट्रिय एकता, भाषा, संस्कृतिमाथि हमला गर्न क्रिश्चियनहरूको जोसुवा प्रोजेक्ट– २ अन्तर्गत नेपालका स्थापित सञ्चार मिडिया र पत्रकारहरू लागेका छन् । नेपाली सेना र नेपाल प्रहरीअन्तर्गत रहेर सीआईए मिसनमा जोसुवा– २ प्रोजेक्टअन्तर्गतका पात्रहरू नेपालका दैनिक पत्रिका, टेलिभिजनमा लेखक र विषय विज्ञका रूपमा अगाडि सारेर रात–दिन भ्रम सिर्जना गरिएको छ । युवराज खतिवडा पनि यस्तैमध्येका एक विज्ञ हुन् । यस कारण उनको आलोचना गर्ने नैतिकता नेपालका कुनै पनि राजनीतिक दलका कार्यकर्ता र तथाकथित पत्रकारहरूलाई छैन ।

यहाँ राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र फगत जनतालाई भ्रम दिने एजेन्डा मात्र हुन् । मूल लडाइँ फिरिङ्गीतन्त्र, इसाईतन्त्रविरुद्ध हो । त्यो दल, सेना, प्रहरी, दरबार, नागरिक समाज, पत्रकारका भेषमा रहेका छन् । यो अवस्थामा युवराज खतिवडा एउटा प्रतिनिधि पात्र मात्र हुन् । मुक्तिनाथ अधिकारीदेखि नारायणप्रसाद पोखरेलको हत्यारा बाबुरामले रत्नपार्कमा भात बाँड्दै हिँड्नु, सीआईएको बेबिकिङ बोक्ने पूर्वसेनापति कटवालले खाजा बाँड्दै हिँड्नु र यिनको झोला बोकेका अपराधीहरूले नैतिकता खोज्नुको कुनै अर्थ छैन । बम्बैमा चेली बेच्नेहरू र एनजीओ–आईएनजीओमा श्रीमती, दिदीबहिनी बिक्री गर्ने राजनीतिक दलका कार्यकर्ताहरूमा तात्विक भिन्नता छैन । हो, यस प्रकारको फिरिङ्गी शासनमा युवराज खतिवडा उपयुक्त पात्र हुन् र यसको जिम्मेवारी यस्तो विकृत व्यवस्थाका लागि लड्नेहरूको पनि हो । यसर्थ अबको लडाइँ आन्तरिक फिरिङ्गीहरूका विरुद्ध हो ।

राजतन्त्रको अन्त्य गरेर गणतन्त्र सिक्किममा पनि आएको थियो, अफगानिस्थानमा पनि आएको थियो, कास्मिरमा पनि आएको थियो । तर फिरङ्गीतन्त्र यथावत् रह्यो । आज कास्मिर र अफगानिस्थान गृहयुद्धमा फसेका छन् । ठीक यही अवस्था नेपालको हो । यस कारण अबको लडाइँ नेपाली राजनीतिभित्रको क्रिश्चियन तन्त्रविरुद्ध केन्द्रित गर्नु अनिवार्य छ । अन्यथा जुनसुकै शासन व्यवस्था भए पनि युवराज खतिवडाहरू, कुमार फुदुङ, सूर्यबहादुर सेन र कोमल ओलीहरूकै सत्ता हुनेछ ।

नेपालमा आन्तरिक इसाई फिरङ्गीहरूको सबैभन्दा बढी प्रभाव पत्रकारिता, नागरिक समाज, तथाकथित नाम मात्रको नेपाली सेना र अदालतमा रहेको छ । यसर्थ मूल समस्या फिरङ्गी शासन शैलीको हो । यो अवस्थामा विकल्प के हो त ? यो नै अहिलेको मूल प्रश्न हो । हामीसँग विकल्पहरू सीमित छन् । यो अवस्थामा हामीले कम्बोडिया या लाओसको मोडलमा वर्तमान पद्धतिलाई लैजानुपर्दछ । जसरी राजा नरोद्दम सिंहानुकलाई अपदस्थ गरेपछि कम्बोडियाको सेना र अदालत विघटन गरियो र सिंहानुकलाई नयाँ राज्य व्यवस्थाभित्र समायोजन गरियो, नेपालमा पनि त्यो मोडल अति आवश्यक रहेको छ । त्यसले राजनीतिक धु्रवीकरणलाई अझ तीव्र बनाउने छ र मुलुकलाई आन्तरिक फिरङ्गीबाट मुक्त गराउने छ । यसका लागि उत्तरी छिमेकी चीनको सहयोग अनिवार्य रहन्छ । जसरी कम्बोडिया र लाओसमा रहेको थियो । मदन भण्डारी हत्याको नसोसँग जोडिएका केपी ओलीले युवराज खतिवडा छाड्न नसक्नुको रहस्य माधव नेपालले बुझेका होलान् । किनभने मदन हत्यापछि नै ओली र नेपालको उदय भएको हो । यसर्थ अबको सङ्घर्ष सबै प्रकारका देशी–विदेशी फिरङ्गीका प्रतिनिधि पात्रविरुद्ध हो । जबसम्म फिरङ्गी मेसिनरी उखेलिँदैन, देशभक्तहरू प्रताडित भई नै रहन्छन् । राजतन्त्रका शुभचिन्तक राष्ट्रगुरु योगी नरहरि नाथलाई २०१६ सालमा बीपी कोइरालाको सरकारले हत्या गर्ने षड्यन्त्र ग¥यो र उहाँले जम्मा गरेको पुस्तकमा आगो लगाइदियो । यता, २०३४ सालमा नयाँ शिक्षाको विरोध गर्दा जेलमा हालेर करेन्ट लगाइयो । उहाँको हस्तलिखित पत्र वैदिक साम्यवाद नरहरिनाथ योगी पुस्तकमा समावेश गरिएको छ । रिडीको काली गण्डकीमा हेलेर मार्न खोजियो । २०५५ सालमा गिरिजाप्रसाद कोइरालाको सरकारले उहाँका पुस्तकहरू जलाउन निर्देशन दियो । यस कारण लडाइँ फिरङ्गी र तिनका मतियारका विरुद्ध हो । यहाँ अहिले कुनै तन्त्र छैन, फिरङ्गीतन्त्र छ । कुमार फुदुङ र युवराज खतिवडा प्रवृत्ति फिरङ्गीतन्त्रका प्रतिनिधि पात्र मात्र हुन्, सबैलाई चेतना भया ।