Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीमा ओलीको मण्डले शासन, डन र तस्करको बोलबाला

कम्युनिष्ट शासनमा जनहत्या र बलात्कारको सीमा नाघ्दैछ । नेपाल प्रहरी निष्पक्ष छैन । यो शक्तिले गृहमन्त्री रामबहादुर थापाको निर्देशन मान्दैन । जहाँ प्रधानमन्त्री केपी ओली र उनले पालेका डन र गुण्डाले भनेका प्रहरी मान्छ । त्यहाँ भ्रष्टाचार चर्को छ । प्रहरी कल्याण कोषले चलाएको पेट्रोलपम्प होस् वा प्रबन्धमा आईजीपी शैलेस थापाले जुटाएको टोली किन नहोस् । नेपाल प्रहरी बलात्कारी र हत्याराको सारथी बनेको छ । त्यसको प्रमाण खोज्न निर्मला पन्त प्रकरण र वीगरञ्ज प्रहरी, प्रदेश २ को नेतृत्वको रवैया काफी छ । दुई साता अगाडि भारतीय सुन तस्करको सुन पक्रने साहुजीको खोजी नगरी छूट दिने पर्सा प्रहरी एसपी गंगा पन्तको हैसियत संघीय सत्ताका बादशाह केपी ओली गुटका लठैत स्थानीय तस्कर राजकुमार गुप्ताले देखाएको अपराधी करण जोगाउनमै देखियो ।

कुम्भकर्ण चरित्रका गृहमन्त्री रामबहादुर थापा बादलको क्षमता देखियो । गृहमन्त्रीको नाताले वादलको क्षमता निर्मला पन्त बलात्कार र हत्यामा पनि देखियो, सुन काण्ड, एनजीओ र आईएनजीको लगानी र खर्चको खोजी अभियानमा पनि नांगिएकै हो । गाउँपालिकाको नेकपा नेतृत्वको सपथलाई लिएर कम्युनिष्ट पार्टीका कार्यकर्ताले देखाएको लाठी प्रदर्शन जनताका अगाडि घृणित खेल थियो । त्यहाँ प्रहरी दर्शक बनेर कथित एमाले र माओवादीको पौरख हेरेर बस्यो । पार्टीको गाउँपालिका स्तरको सचिव मुकेश चौरासियाको जीवन लिइयो । जसले जीवन लियो त्यो अ‍ोली गुटको विश्वासी थियो । कम्युनिष्टको नाउमा वैधानिक अपराध चम्काउने प्रहरीको संरक्षणमा छन्, जो मारियो उसको पक्ष लिने ओली गुटको पैताला चाट्न तयार बादलको क्रान्तिकारीताबाट टाढा बन्न पुगेका छन् । प्रहरीले यहाँ निष्पक्षता गर्दैन ।

किनकि प्रम ओली यो देशका नयाँ तानाशाह हुन् । प्रहरी उनको दाश हो । यसले मालिकको सेवा गर्छ जनताको होइन । प्रहरीले २/४ अपराधी पक्रेर कानुनको दायरामा ल्याएको पनि छ तर देशमा घटाइएका नियोजित अपराधको संरक्षक गृहमन्त्री नै भएका छन् । संसदको महिला अधिकार तथा सुरक्षा सम्बन्धी छलफलमा गृहमन्त्रीले दिएको मन्तव्यले उनको नालायकी दर्शाएकै हो । कात्तिक ६ गते घटेको घटनामा ९ दिनसम्म प्रहरी कहाँ थियो ? त्यसको जवाफ दिने गृहमन्त्री प्रदेश प्रहरी डिआईजी कता थिए ? पर्सा प्रहरीकी गंगा पन्त कहाँ थिइन् ? गरिबले यहाँ न्याय कसरी पायो ? गृहमन्त्री बादलले जवाफ दिने कि कुम्भकर्ण हुने ?

सार्क क्षेत्रको अनुसन्धानमा अब्बल नेपाल प्रहरी सत्तारुढ दलको भकुण्डो बन्ने गर्छ । यस पटक नेकपाको अन्तरकलहमा माओवादीका रामबहादुर थापाको नालायकीले एमालेको धुन्धकारी जबजलाई मौका मिलेको छ । यो मौकाको फाइदा मधेशमा राजकुमार गुप्ताहरुले लिएका छन् । राजधानीमा लगानी बिना आम्दानी गर्ने डनहरु दिपक मनाङे, मिलन चक्रे, परशुराम बस्नेत, रमेश बाहुनहरुले लिइरहेका छन् । ओली शासनको शान्ति सुरक्षा कहिले कञ्चनपुरमा नाचेको छ अहिले पर्सामा छट्पटाएको छ । बादल कमरेडको क्रान्तिकारीता ओली शासनका अगाडि घुँडा धसेर कुर्सी मोहमा लम्पसार परेको छ । त्यही कारण प्रम ओलीले नालायक भए पनि गृहमन्त्री बादललाई पदबाट हटाउँदिन भनेका छन् ।

गृहमन्त्री मुर्ति सावित
मधेश त अपराधीको खानी हो । रौतहटका काँग्रेस मोहमद अफताव आलामको करामत र पर्साका राजकुमार गुप्ताको पौरख फरक छैन । गुप्ता ओली पक्षका हुन् । उनका खजाञ्चीहरु उत्तम तिवारी, चिन्टु तिवारीलाई अस्पतालबाट भगाइँदा बादलको प्रहरी भाङ खाँदै थियो ? कि खैनी माड्दै थियो ? यहाँ आईजीपीले फूर्ति लगाउनु पर्दैन ? कस्ता मान्छे पु¥याइए प्रहरीको भन्सार मानिएको प्रबन्धमा ? प्रेम बस्नेत, परशुराम मल्ल, पुरुषोत्तम कँडेलको काम भनेकै अहिले उठायने हो । जसरी प्रम ओली ईश्वरहरुको मुर्गा बने त्यही गतिमा आईजीपी कँडेल, बस्नेत र मल्लका मुर्गा भएका छन् । गृहमन्त्री बादलको नालायकीले सचिव महेश्वर न्यौपानेको हालीमुहाली बढेको छ । प्रहरीले जोखिम भत्ता पाउँदैन, राशन भत्ता बढ्दैन, भौतिक पूर्वाधार ध्वस्त छ । संघीय प्रहरी ऐन अलपत्र छ । प्रदेशमा प्रहरीको संरचना स्थापित गर्न सरकार जमजमाएका छन् । तर, गृहमन्त्री बादल मूर्ति बनेका छन् । काम त ओलीका मण्डेलहरुको आदेशमा हुन्छ । अहिले प्रहरीको हविगत यही हो ।


सम्बन्धित समाचार