Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाइडेनले पल्टाउने भए ट्रम्पको सत्ता

एजेन्सी । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजय उन्मुख भएका छन् । विस्कन्सिनमा (१०) र मिसिगनमा (१६) इलेक्टोरल मत रहेको यी दुबै राज्यमा २०१६ को चुनावमा ट्रम्पले जित हासिल गरेका थिए । उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये विजयका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्‍याएका छन् ।

आज बिहीबार बिहानसम्म उनले २६४ सिटमा जित निश्चित गरेका छन् । उनका प्रतिष्पर्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ सिटमै आफूलाई सीमित राखेका छन्। विस्कन्सिन र मिसिगनमा जित हासिल गरेसँगै बाइडेन विजयको बाटोमा उन्मुख रहेका हुन्। अब निर्णायक मानिएको पेन्सेल्भेनियामा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् । एरिजोना र नेभाडामा बाइडेन अगाडि छन् । रिपब्लिकन पकड रहेको जर्जिया अहिले ‘ब्याटलग्राउण्ड’रुपमा देखिएको छ। जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन् । अलास्कामा पनि ट्रम्प नै अग्रस्थानमा छन्। पेन्सेल्भेनिया नजिते पनि अब एरिजोनाका ११ र नेभाडाका ६ गरी बाइडेनलाई चुनाव जित्न १७ सिट पर्याप्त हुनेछन्। उता ट्रम्पले मतगणनामा डेमोक्र्याटिक पक्षले झुक्याएको आरोप लगाउँदै पुनः मतगणनाको माग राखेका छन् ।

उनले आफूले हार व्यहोरेको मिसिगनमा हुलाकमा मतगणना स्थगित गरी छानबिन गर्न पनि माग राखेका छन। उनले अदालतले जानेसमेत चेतावनी दिएका छन् । दुबै पक्षले मत गणना जारी रहेका राज्यको परिणाम व्यग्रतापूर्वक कुरिरहेका छन् । मिसिगन, विस्कोन्सन र पेन्सिलभेनियाको परिणाम आउन केही समय लाग्ने भएकाले अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्नेछ । सबैभन्दा बढी इलेक्टोरल सिट रहेको टेक्सासमा भने ट्रम्पले जितेका छन्। टेक्सासमा ३८ इलेक्टोरल सिट छ। २९ सिट रहेको न्यूयोर्क भने बाइडेनले जितेका छन्।

यसपटक अग्रिम मतदान गर्ने प्रबन्ध तथा हुलाकबाट धेरै मतदान भएकाले प्रारम्भिक नतिजाले मात्र अन्तिम परिणामको अनुमान लगाउन सकिने अवस्था छैन । अमेरिकामा जटिल प्रकारको निर्वाचन प्रणाली र परिणामको व्यवस्था रहेकाले चुनावी परिणाम आकलन गर्न कठिन हुन्छ । द्विदलले मत धेरै प्राप्त गरे पनि स्वतन्त्र उम्मेदवारहरूले राज्यहरूको मत परिणाममा असर पुर्‍याउन सक्छन् ।

अमेरिकामा इलेक्टोरल कजेलको व्यवस्था संविधानको धारा–११ बमोजिम भएको हो, जुन सन् १८०४ को संविधानको १२औँ संशोधनपछि व्यवस्था भएको हो । अमेरिकी ८ राज्यहरूमा सबैभन्दा कम इलेक्टोरल संख्या ३ छ । डिस्ट्रिक अफ कोलम्बिया, अलस्का, भोरमेन्ट, डेलाबर, बेइमिङ, नर्थ डेकोटा, साउथ डेकोटा र मोन्टानाबाट ३–३ इलेक्टोरल मत आउँछ । सबैभन्दा धेरै इलेक्टोरल कलेज संख्या ६ करोडभन्दा बढी जनसंख्या रहेको क्यालिफोर्नियामा रहेको छ ।

त्यस्तै, दोस्रो टेक्सासमा ३८ मत तथा फ्लोरिडा र न्युयोर्कसँग समान २९–२९ सिट छ । इलिनोइस र पेन्सिनभेनियासँग २०–२० इलोक्टोरल कलेज छ । इलेक्टोरल संख्या जसले अमेरिकी राज्यहरूमा धेरै लोकप्रिय मत ल्यायो उसैकोमा जान्छ । फ्लोरिडा (२९), पेन्सिनभेनिया (२०), मिसिगन (१६), जर्जिया (१६), नर्थक्यारोलिना (१५), मिनासोटा (१०) र विस्कोन्सन (१०) राष्ट्रपति निर्वाचनमा निर्णायक राज्यहरू हुन् । अमेरिकी चुनावको औपचारिक परिणामका विभिन्न चरणहरू हुन्छन् ।

जस्तै, १० नोभेम्बरमा राज्यहरूले इलेक्टोरल मत प्रमाणीकरण गर्ने, ८ डिसेम्बरसम्म केन्द्रबाट ५० वटै राज्यमा प्राप्त मतको प्रमाणीकरण गरिसक्ने, १४ डिसेम्बरमा प्रमाणित भएका प्रतिनिधिहरूले सबै अमेरिकी राज्यको राजधानीमा गई आ-आफ्नो मत हाली आधिकारिकता दिलाउनुपर्छ ।

राज्यहरूको आवश्यक प्रक्रिया पूरा भएपछि आगामी ६ जनवरीमा सबै राज्यहरूको इलेक्टोरलको मत संघीय राजधानी वासिङ्टन डीसीमा अमेरिकी कंग्रेसमा मत गणना गरी औपचारिक चरण पूरा हुन्छ । सम्पूर्ण चरण पार गरेपछि २० जनवरीमा अमेरिकी नयाँ राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउँछन् ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन ५३८ रहेको इलेक्टोरल कलेजको मतमध्ये कम्तीमा २७० ल्याउनुपर्छ । राष्ट्रपतिमा कसैको पनि बहुमत नआए प्रतिनिधिसभाले राष्ट्रपति छान्ने व्यवस्था रहेको छ ।