Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२१ वैशाख, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको गैरीगाउँमा गुडिरहेको बोलेरो पिकअप भ्यान शुक्रबार दिउँसो भासिएर जमिनमुनि हरायो । शुक्रबार र शनिबार दुई दिनसम्म खोज्दा पनि गाडी भेटिएन । आइतबार सशस्त्र प्रहरीको टोलीलाई बोलाएर गाडी खोज्ने काम भइरहेको छ ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ जोडिएको गैरीगाउँको भित्री कच्ची सडकमा शुक्रबार दिउँसो घाँस काट्ने मेसिन बोकेको स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको सिंगल क्याब पिकअप गाडी भासिएको हो ।
गाडी धसिँदै जान थालेपछि सहचालक र चालकले गाडीलाई पछाडिबाट डोरीले बाँधेर तान्ने प्रयास गरे । तर सकेनन् । एउटा भिडियोमा उनीहरुले टेलिफोन गरेर गाडी धसिएको जानकारी कसैलाई गराउँछन् । अर्कोतर्फबाट बोल्ने व्यक्तिले ट्याक्टर लगाएर तान्न सुझाव दिन्छन् । तर उनले गाडी पुरै जमिनमुनि डुबिसेकेकाले ट्याक्टर लगाएर तान्न सम्भव नहुने बताउँछन् ।
गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ । बाटोमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैको ध्यान तानेको छ ।
गाडी भासिएको सडकको दायाँ–बायाँ माछापालन पोखरी छन् । त्यो सडककै छेउँमा पानी तान्ने बोरिङ गाडिएको छ । उक्त बोरिङ गाडी धनी हरिराम राईले माछापोखरीमा पानी हाल्ने प्रयोजनका लागि गाडेका थिए । त्यही बोरिङसँगै सडक भासिएर गाडी हराएको हो ।
गाडी धसिँदै भित्र छिर्न थालेपछि डोरीले गाडी तान्ने प्रयास गरेका व्यक्तिले बोरिङमा गाडी छिरेको बताएको भिडियोमा सुनिन्छ ।
स्थानीयका अनुसार अहिले बाटो बनेको र दायाँबायाँ पोखरी बनेको ठाउँ पहिले दलदल थियो । त्यो दलदलमा स्थानीयका हल गोरु हराउने घटना पनि भएका थिए ।
जमिन भासिएको ठाउँ पर्ने हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला भन्छन्, अहिले ठ्याक्कै मिति थाहा छैन र तर हामी सानै छँदा ७–८ हल गोरु धसिएको भनेर बुढापाकाहरुले भन्छन् । म अलि ठूलो भएपछि पनि एक हल गोरु धसिएर जमिन मुनि नै हराएको सम्झना छ ।
उनका अनुसार केही वर्षयता भने जमिन सुक्खा भएर साह्रो भएको थियो । त्यसैले त्यहाँ बाटो पनि बनाइयो । अहिले दलदल छैन, सुकेर जमिन साह्रो छ । त्यही भएर मेरो पहिलो कार्यकालमा त्यहाँ ६–७ वर्ष
अगाडि बाटो बनाइएको हो, वडाध्यक्ष कोइरालाले भने, अहिले त्यही बाटोमा गाडी धसिएर जमिन मुनि हरायो । गाडी खोज्नका लागि आज सशस्त्र प्रहरीलाई पनि बोलाइएको उनले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतराज गौतम पनि धेरै वर्ष अगाडि त्यो ठाउँमा दुई वटा गोरु जमिनमुनि धसिएर हराएको भन्ने सुनेको बताउँछन् ।
उनले भने, मलाई नगर प्रहरीले रिपोर्टिङ गरे अनुसार त्यहाँ पहिले दलदल थियो रे, त्यहाँ इनार पनि थियो रे, पछि इनार पुरिएको थियो रे । दुई वटा गोरु पनि लापता भएका थिए रे ।
अहिले यही ठाउँमा गाडी हराएको र हेटौंडा उपमहानगरपालिकाको क्षेत्रभित्र पर्ने भएकाले भूगर्भविदहरुसँग पनि परामर्श गरेर अघि बढ्ने उनले बताए ।
गाडी हराएको घटनाको दुई दिनपछि बल्ल हेटौंडा उपमहानगरपालिकामा विपद व्यवस्थापन समितिको बैठक बोलाइएको छ । मेयर मिना लामाले गाडी भासिएको घटनाबारे छलफल गर्न विपदको बैठक बोलाइकी छिन
हेटौंडामा जमिनमा धसिएर गाडी नै हराउँदासमेत खानी तथा भूगर्भ विभाग भने बेखबर छ । विभागकी उपमहानिर्देशक मोनिका झा हेटौंडाको घटनाबारे मिडियाबाट थाहा पाएको तर औपचारिक जानकारी नभएको बताइन् ।
उनले हाल खानी तथा भूगर्भ विभाग महानिर्देशकविहीन भएकाले पनि कामकाजमा समस्या भइरहेको बताइन् ।
महानिर्देशक दिनेश नेपालीले घरायसी कारण देखाउँदै दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ । हाल बरिष्ठताको आधारमा झाले दैनिक प्रशासनिक कामकाज मात्र सम्हालिरहेकी छन् ।
२०८२ जेष्ठ ६
ताजा नेपाल
२०८२ जेष्ठ ६
ताजा नेपाल
२०८२ जेष्ठ ६
ताजा नेपाल