Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अडियो प्रकरणबारे रवि भन्छन् अनुसन्धानमा सघाउँछु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो प्रकरणमा अनुसन्धान गर्न प्रहरी, प्रशासन र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सघाउने बताएका छन् । बाराको निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका सिलसिलामा महागढीमाई नगरपालिकाको गढीमाई धार्मिक स्थलमा आयोजित चुनावी सभालाई आइतबार सम्बोधन गर्दै यस्तो बताएका हुन् । ७२ घण्टाभित्र पार्टीबाट अनुसन्धान गरेर कारबाही गर्ने र थप अनुसन्धानका लागि सरकारी निकायमा आफैंले सही गरेर उजुरी दिई अनुसन्धान गर्न सघाउने उनले बताए । देशमा ७२ वर्षदेखि भएको भ्रष्टाचारसित आफूलाई मतलब नभएको तर आफ्नो पार्टीको सांसदले गरेको गल्तीबारे कारबाही गर्ने उनको भनाइ थियो । कारबाही गरिनँ भने मलाई यही गढीमाईमा बली दिनुहोला, उनले भनेका थिए । सांसद श्रेष्ठलाई रास्वपाले निलम्बन गर्दै स्पष्टीकरण सोधिसकेको छ । सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसित २ करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् ।
सार्वजनिक भएको अडियोमा सांसद श्रेष्ठले भने सभापति लामिछानेलाई बुझाउनुपर्ने भन्दै व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको सुनिन्छ । त्यसवापत उनले मन्त्री बनेपछि प्रसाईंको काम गरिदिने आश्वासन दिएका छन् ।