Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अनलाइनमा पसेपछि पुलिस रिपोर्ट घरमै

काठमाडौं । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको बताइन्छ ।
नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुलिस रिपोर्टका लागि धेरै दिन लगाएर सेवाग्राही प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए । उनले दैनिक १ हजारको संख्यामा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुलिस रिपोर्टका लागि आवेदन दिने गरेको समेत जानकारी दिए । सो संख्या दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ । यो प्रणाली सुरु भएसँगै लाइन लगाएर पुलिस रिपोर्ट दिनसमेत अन्त्य गरिएको छ ।
पुलिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब नेपाल प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ पुलिस क्लिरेन्स रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले विभिन्न चरणमा गरेर विवरण भर्नुपर्ने हुन्छ ।
यस्तै, सेवाग्राहीले आफूलाई पुलिस रिपोर्ट किन आवश्यक परेको हो भन्ने बेहोरासमेत खुलाउनुपर्नेछ । यस्तै, आफू पहिले कुनै आपराधिक घटनामा संलग्न भएको वा नभएको भन्नेबारे समेत मागेको जवाफ सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ । माग भएअनुसार सबै विवरण भरिसकेपछि अन्तिम चरणमा सम्पूर्ण विवरण देखाउँछ । यदि नमिलेको खण्डमा सच्याउन सकिन्छ । सबै विषयलाई मागअनुसार रजिस्ट्रेसन गरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ ।
सेवाग्राहीले अनलाइनबाट फाराम भरेको तीन दिनपछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयको चालचलन शाखाबाट रिपोर्टको सक्कल लिन सक्नेछन् । तर, अनलाइन सिस्टममा नै देखाइएको विवरणअनुसारको रिपोर्टलाई समेत सेवाग्राहीले लिन चाहे विवरण भरेपछि तत्कालै लिन सक्नेछन् । प्रहरी प्रवक्ता पोखरेलले यदि कसैलाई हार्ड कपी आवश्यक परे मात्र काठमाडौं आउनुपर्ने नभए अनलाइन प्रणालीमा प्राप्त विवरणबाट समेत कतिपय काम गर्न सकिने जानकारी दिए ।


सम्बन्धित समाचार