Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अनुसन्धानकर्ता प्रहरी र वकिलहरुबीच बहस

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विगतमा भन्दा केही भिन्न अवस्था, परिस्थिति र सन्दर्भमा हुनलागेको फौजदारी न्याय प्रणालीका महत्त्वपूर्ण आधार अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलन विशिष्ट र दुरगामी महत्त्वको रहने धारणा व्यक्त गर्नुभएको थियो । सम्मेलन आज सकिने भएको छ ।
राष्ट्रिय सभागृह भृकुटीमण्डपमा शुक्रबार आयोजित विशेष समारोहबीच नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन, २०७६ को उद्‍घाटन गर्दै प्रधानन्यायाधीश जबराले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
प्रधानन्यायाधीश जबराले नेपालको संविधान बमोजिम नयाँ कानुनहरू निर्माण भई कार्यान्वयनमा आएका र संहिता कानुनहरूले आत्मसात गरेको अवधारणा र विधिशास्त्रीय मान्यता अनुरुप प्रशासनमा आवद्ध सबै निकायहरूले आफ्नै भूमिका र क्षमतालाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको सन्दर्भमा सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरू समेत अत्यन्त सान्दर्भिक र समयसापेक्ष रहेको आफूले महशुस गरेको बताउनुभयो । संहिताहरूको एकरुपताका साथ प्रभावकारी कार्यान्वयन गर्ने, वस्तुनिष्ठ अनुसन्धान तथा प्रभावकारी अभियोजनका माध्यमबाट फौजदारी न्याय प्रणालीलाई सक्षम र प्रभावकारी बनाउन सम्मेलनले महत्त्वपूर्ण कार्यदिशा तय गर्ने अपेक्षा गरिएको उहाँले चर्चा गर्नुभयो ।
फौजदारी न्याय प्रणाली समाजमा न्याय एवम् सुव्यवस्था कायम गर्ने माध्यम र कानुनको शासनको आधारस्तम्भ रहेको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले भन्नुभयो, ‘फौजदारी न्याय प्रणालीको प्रभावकारिताको लागि स्वतन्त्र, निष्पक्ष, सुदृढ एवम् सक्षम अनुसन्धान र अभियोजन अपरिहार्य मानिन्छ ।’ न्याय प्रणालीप्रतिको आस्था र विश्वास अभिवृद्धिका लागि यसका सम्पूर्ण अवयवहरूको सक्षमता, विश्वसनियता र क्रियाशीलता त्यतिकै आवश्यक हुने कुरामा उहाँले जोड दिनुभयो ।
समारोहमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले धन्यवाद व्यक्त गर्दै अपराध अनुसन्धान गर्ने प्रहरी र अभियोजनकर्ता सरकारी वकीलबीच समन्वय र सहकार्यको अभ्यास विगतदेखि नै हुँदै आएको र महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजनाले पनि यो विषयलाई प्राथमिकतापूर्वक उल्लेख गरेको बताउनुभयो । कुनै पनि मुलुकमा कानुनको शासनको अवस्थाको मूल्याङ्कन गर्ने प्रमुख सूचक फौजदारी कानुनको कार्यान्वयनको रुपमा अपराध नियन्त्रण रहेको उहाँले चर्चा गर्नुभयो ।
महान्यायाधिवक्ता खरेलले अपराध नियन्त्रणका लागि प्रभावकारी फौजदारी कानुनको आवश्यकता पर्ने र कानुनको पालना गर्ने नागरिक संस्कार एवम् कानुन कार्यान्वयन गर्ने निकायको सक्षमता र प्रभावकारिता आवश्यक रहेको बताउनुभयो । न्याय सम्पादन प्रक्रियालाई सहयोग गर्ने फौजदारी कानुन कार्यान्वयनको लागि अपराध अनुसन्धान र अभियोजन महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै समग्र फौजदारी न्याय प्रणालीको उन्नयनका लागि अपराध अनुसन्धान गर्ने निकाय र अभियोजन गर्ने निकायको साझा क्रियाशीलता आवश्यक रहने उहाँले बताउनुभयो ।
संविधान र कानुनले निर्धारण गरेको सीमा र परिधिभित्र रही असल अभ्यासको विकास गर्न र मुलुकमा कानुन र व्यवस्था कायम गर्ने साझा लक्ष्यमा पुग्‍नका लागि सहअस्तित्वको मान्यता सहित सहकार्यमा जसरी अगाडि बढेका छौं त्यसको निरन्तरताको समेत आवश्यकता हुने उल्लेख गर्दै महान्यायाधिवक्ता खरेलले सुदृढ फौजदारी न्याय प्रशासन मुलुकको सम्बृद्धि र सुशासनको आधारको रुपमा रहेको तथ्यलाई मनन् गर्दै पीडितलाई न्याय र कसूरदारलाई सजाय दिलाउन क्रियाशील रहन प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले स्वागत मन्तव्य व्यक्त गर्दै सम्मेलनबाट प्राप्त निष्कर्षले आगामी दिनका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताका लागि थप पेशागत मार्गप्रशस्त हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारको राष्ट्रिय अभियानको एउटा प्रमुख पक्षको रुपमा रहेको समृद्ध नेपाल सुखी नेपाली अभियान पुरा गर्ने प्रमुख आधार आमनागरिकको न्यायसँगको सहज पहुँच रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘सुखी नेपालीको आधारभूत तत्व भनेको निष्पक्ष र कानूनसम्मत प्रभावकारी न्याय प्रणाली नै हो ।’
नेपालको फौजदारी न्याय प्रणालीका सन्दर्भमा न्याय सम्पादन नेपाल प्रहरी, महान्यायाधिवक्ताको कार्यालय तथा न्यायालयको सह र विशिष्ट भूमिकाबाट मात्र सम्भव हुने बताउँदै प्रहरी महानिरीक्षक खनालले अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणमा नेतृत्वदायि भूमिकामा रहेका निकायहरुबीचको आपसी समन्वय र सहयोगमा मात्र आमनागरिकले राज्यबाट हुने निष्पक्ष न्याय सम्पादन र दण्डहिनताको अन्त्यको अनुभव गर्न सक्ने उल्लेख गर्नुभयो । ‘सबुद सिर्जना गरिँदैन संकलन गरिन्छ’ भन्ने तथ्यलाई स्थापित गर्न नेपाल प्रहरीले वैज्ञानिक अनुसन्धान प्रणालीको विकास र विस्तारलाई प्राथमिकतामा राखेको बताउँदै प्रहरी महानिरीक्षक खनालले यसका लागि विधिविज्ञान प्रयोगशाला, डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ सेवा, भिडियो कन्फेरेन्स सिस्टम, सोको भ्यान, इन्टरभियू रुम, केनाइन स्कूल आदिको विकेन्द्रीकरण र क्षमता अभिवृद्धिका लागि योजना निर्माण गरी कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।
समारोहमा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सम्मेलनको महत्वबारे प्रकाश पार्दै संविधान तथा कानुनले दिएको जिम्मेवारी स्वतन्त्र र इमान्दारीपूर्वक पुरा गरेमा अनुसन्धान र अभियोजनामा संलग्न दुवै संस्थाले निश्चय नै फौजदारी न्याय प्रशासन विश्वासिलो र आम जनसमुदायको भरोसाको केन्द्र बन्न सक्ने बताउनुभयो । फौजदारी न्यायको मान्य सिद्धान्त अनुरुप कुनै पनि निरपराधी नफसोस् भन्ने कुरामा अनुसन्धानकर्ता एवम् अभियोजनकर्ता दुवै सतर्क र सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अनुसन्धानकर्ता र अभियोजनकर्ताहरु एकै स्थानमा जम्मा भई अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्न तथा नयाँ कानुनहरुको प्रभावकारीरुपमा कार्यान्वयन गर्नका लागि महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयद्वारा संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा मुलुकी अपराध संहिताको कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु, मुलुकी फौजदारी कार्यविधि संहिताको कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु, अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनको अवस्था र सुधारका प्राथमिकताहरु, सरकारवादी मुद्दाको प्रभावकरिताको महान्यायाधिवक्ताको कार्यालयबाट गरिएका प्रयासहरु र अनुसन्धानकर्ता एवम् अभियोजनकर्तासँग राखिएका अपेक्षाहरु, सरकारवादी मुद्दाको अनुसन्धानमा गरिने प्रमाण संकलन एवम् परीक्षणको अवस्था, फौजदारी न्याय प्रशासनको प्रभावकारिताका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताबीचको समन्वय र सहकार्य, अपराध पीडित संरक्षण ऐनको कार्यान्वयनमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको जिम्मेवारी एवम् कार्यसम्पादनमा सुधारका लागि अपनाउनुपर्ने उपायहरु लगायतका विविध विषयमा सम्मेलनमा विस्तृत छलफल हुनेछ ।
उद्‍घाटन समारोहपूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत कार्यक्रममा सहभागी हुने प्रहरी अधिकृतहरु र सरकारी वकीलहरुको सहभागितामा पद्मोदय मोडबाट सुरु भएको प्रभातफेरी राष्ट्रिय सभागृहमा पुगेर समारोहमा सम्मिलित भएको थियो ।
औपचारिक उद्‍घाटन समारोह समापन पश्‍चात् नेपाल प्रहरी संगीत विद्यालय तथा नेपाल पुलिस क्लबको सांस्कृतिक टोलीले विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो ।
‘व्यावसायिक चरित्र, पारदर्शी व्यवहार, निष्पक्ष अनुसन्धान र अभियोजन न्यायको आधार’ भन्ने अवधारणा सहित ३ दिनसम्म संचालन हुने उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु, अभियोजनकर्ता सरकारी वकिलहरु, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरु तथा महान्यायाधिबक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयबाट तोकिएका समेत गरी जम्मा ६ सय २५ जनाको सहभागिता रहेको छ ।