Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब केयूकेयलको सेयर जनतालाई बाढ्ने

काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा आइतबारदेखि मेलम्चीको पानी वितरण शुरु भयो । पानीवितरण शुरु भएकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका सीईओ मिलन शाक्यले भविष्यमा जनताका लागि पनि केयूकेएलको सेयर जारी गर्छौं भनेका थिए । काठमाडौंमा पानी आएपछि केयूकेएलले साधारण सेयर आईपीओ जारी गर्नका लागि योजना अघि बढाउने भएका छन् । गएका तीन आर्थिक वर्षको लेखा परीक्षण गर्दै गरेको कम्पनी लगातार नाफामा देखिए अर्को आर्थिक वर्षमा नै सेयर जारी गर्न पाइनेछ । काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु भएसँगै आफ्नो वित्तीय अवस्था सुध्रिने केयूकेएलको दाबी छ ।

केयूकेएलमा काठमाडौं महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौंका अन्य १६ नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको छ । काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु भएसँगै हाम्रो वित्तीय अवस्था सुध्रियो भने केही समयमै कम्पनीको प्रबन्धपत्रअनुसार जनताका लागि कम्पनीको सेयर जारी गर्न सकिने छ । कम्पनीको प्रबन्धपत्र अनुसार १ अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ प्रतिशत सेयर हिस्सा छ । नेपाल चेम्बर अफ कमर्ससहित ४ वटा निजी क्षेत्रका संस्थाहरूको १२ प्रतिशत सेयर हिस्सा छ । केयूकेएलका कर्मचरीको ट्रस्टका लागि ४ प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर हिस्सा छुट्याइएको छ । बाँकी १५ प्रतिशत सेयर भने सर्वसाधारणलाई दिने प्रबन्धपत्रमा व्यवस्था छ । अधिकृत पुँजी अनुसार काठमाडौंका स्थानीय तहहरूले अधिकृत पुँजीअनुसार लगानी गरिसकेका छैनन् । कर्मचारी लगायतको सेयर पनि जारी भएको छैन । अहिले कम्पनीको वित्तीय अवस्था बलियो नभइसकेकाले शुरुवातमा त्यतातर्फ ध्यान दिने केयूकेएलले बताएको छ ।

कम्पनीको वित्तीय अवस्था सुधार्न हालको खानेपानी महसुलको दर परिवर्तन गर्नुपर्ने सीईओ शाक्यले बताएका छन् । केयूकेएलले वर्षमा ९५ करोड बराबरको पानी वितरण गर्ने गर्दछ । तर, ८० करोड मात्रै शुल्क नियमित उठ्ने गरेको छ । १० हजार लिटरसम्म पानी उपयोग गर्दा १५० रुपैयाँ मात्रै शुल्क लिइरहेका कारण मेलम्चीको पानी आएपछि शुल्क परिवर्तन नगर्ने हो भने सञ्चालन खर्च उठाएर नाफामा लैजान नसकिने शाक्यको भनाइ छ ।मेलम्चीबाट दैनिक आउने थप १७ करोड लिटर पानी वितरणको उचित व्यवस्थापन गर्दै कम्पनीलाई नाफासहित थप पारदर्शी र उत्तरदायी बनाउने कुरा शाक्यले बताएका छन् ।