Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो।

रिपोर्टअनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो। तर चिकित्सकीय प्रयास सफल हुन सकेन। चिकित्सक डा. शेखर सालकरका अनुसार नाना पाटेकरको बिहान ५ः२० बजे निधन भएको हो। निधनपछि मेडिको–लिगल केस (एमएलसी) दर्ता गरी पोस्टमार्टमको तयारी गरिएको बताइएको छ।

नाना पाटेकरले लामो समयदेखि हिन्दी तथा मराठी चलचित्रमा अभिनय गर्दै आएका थिए। सन् १९८९ मा प्रदर्शित ‘परिन्दा’मा उनले निर्वाह गरेको अन्नाको भूमिकाका लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेका थिए।

त्यसपछि सन् १९९४ को ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार तथा सन् १९९६ को ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए। उनको अभिनय यात्रामा तीन राष्ट्रिय फिल्म पुरस्कार छन्। भारतीय सिनेमामा योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मान गरिएको थियो।

गम्भीर भूमिकासँगै हास्य भूमिकामा समेत लोकप्रिय नाना पाटेकर सन् २००७ को ‘वेलकम’ चलचित्रमा निभाएको ग्याङ्स्टर उदय शेट्टीको भूमिकाका कारण नयाँ पुस्तामाझ पनि चर्चित बनेका थिए। उनले ‘वेलकम ब्याक’मा समेत यही भूमिका निर्वाह गरेका थिए।

चलचित्र ‘प्रहार : द फाइनल अट्याक’का लागि उनले भारतीय सेनासँग सैन्य तालिमसमेत लिएका थिए। मराठा लाइट इन्फेन्ट्रीसँग तालिम लिएर उनले सैनिक जीवनको अनुभव गरेका थिए।

सन् १९९९ को कारगिल युद्धका क्रममा पनि पाटेकरले सैनिकहरूसँग समय बिताएका थिए। विभिन्न रिपोर्टअनुसार उनले दुई साताभन्दा बढी समय सैनिकहरूबीच रहेर विभिन्न पोस्टमा पुग्दै उनीहरूको मनोबल बढाएका थिए। उनले आफू क्विक रियाक्सन टिमको हिस्सा बनेको समेत विभिन्न अन्तर्वार्तामा बताएका थिए।

नाना पाटेकरले विभिन्न अन्तर्वार्तामा देशका लागि प्रत्येक व्यक्तिले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका थिए। उनको निधनसँगै भारतीय चलचित्र क्षेत्रले एक चर्चित अभिनेता गुमाएको छ।