Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अभिव्यक्तिप्रति क्षमा माग्दै गृहमन्त्री गुरुङले भने– मेरो भाषा अलि ठाडो भयो

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभामा दिएको आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमा मागेका छन्। निर्मला पन्त हत्या प्रकरणको विषयमा सांसदहरूसँग भएको सवाल–जवाफका क्रममा प्रयोग भएको आफ्नो भाषा उपयुक्त नभएको स्वीकार गर्दै उनले सदनबाटै माफी मागेका हुन्।

विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा अहिलेसम्म न्याय किन हुन सकेन भन्ने प्रश्न उठाएका थिए। उनले निर्मलाको परिवारले कहिलेसम्म न्याय पाउने भन्ने विषयमा सरकारको धारणा पनि माग गरेका थिए।

प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले, ‘तपाईंहरू सत्तामा हुँदा किन गर्नुभएन?’ भन्दै प्रतिप्रश्न गरेका थिए। उनले एउटी आमाको घाउ पटक–पटक कोट्याएर थप पीडा नदिन आग्रह गर्दै राष्ट्रिय सभामा यो विषय अब नउठाउन समेत चेतावनी दिएका थिए। गृहमन्त्रीको उक्त अभिव्यक्तिपछि विपक्षी सांसदहरूले आपत्ति जनाएका थिए।

राष्ट्रिय सभा सदस्य विश्वकर्माले प्रश्न गर्ने अधिकार संसद्को संवैधानिक अधिकार भएको उल्लेख गर्दै सरकारबाट स्पष्ट जवाफ मागेका थिए। उनले निर्मला पन्तका परिवारले न्याय कहिले पाउने भन्ने प्रश्न दोहोर्‍याए पनि गृहमन्त्रीले त्यसको प्रत्यक्ष जवाफ दिएका थिएनन्।

घटनापछि उत्पन्न आलोचनाबीच गृहमन्त्री गुरुङले रोष्ट्रमबाटै आफ्नो अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै सांसदहरूसँग क्षमा मागे। उनले संसद्बाट अझै धेरै कुरा सिक्न बाँकी रहेको स्वीकार गर्दै आफ्नो बोली केही कठोर हुन पुगेको बताए।

‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौँ। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। त्यसका लागि म क्षमाप्रार्थी पनि छु, हजुरहरूसँग माफी पनि माग्न चाहन्छु,’ गृहमन्त्री गुरुङले भने।

उनले संसद्मा विषयकेन्द्रित र मर्यादित छलफल हुनुपर्ने धारणा दोहोर्‍याउँदै आफ्नो अभिव्यक्तिका कारण असहज अवस्था सिर्जना भएको भए त्यसप्रति आफू जिम्मेवार रहेको संकेत गरेका छन्।

निर्मला पन्त हत्या प्रकरण लामो समयदेखि निष्कर्षमा पुग्न नसकेको संवेदनशील मुद्दा भएकाले यस विषयमा सरकारको जवाफदेहिता र संसद्को प्रश्न गर्ने अधिकारबारे पुनः बहस चर्किएको छ।