Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असफल मन्त्रीले देखाए परिणाम

काठमाडौँ । अति गर्नु, अत्याचार नगर्नु भन्छन् । जहाँ अति हुन्छ, त्यहाँ खति हुन्छ । ओली सरकारले पार्टीगत सहमति गराएर आफ्ना योजना स्वीकृत गर्न सक्थ्यो । तर पार्टीलाई कहीँकतै लेखाजोखा मात्र होइन, इज्जतसमेत राखिएन । यो बेला तत्कालीन एमालेको नौ महिने सरकारको समरण गर्नु व्यर्थ भयो । किनकि एमालेले जस पाएको त्यही बेलाका योजना थिए । अहिले नेता स्वार्थी भए, भ्रष्ट र लुटाहा भए, बिचौलिया र दलालका लगानीकर्ता भए । पार्टीको विधि, प्रक्रिया, सिद्धान्त र विचार केवल देखाउने दाँत भए । कम्युनिस्ट पार्टीको अध्यक्ष सर्वसत्तावादी पदको भोको, धनको लोभी र व्यवहारको मसिया हुुन्छ भने त्यस्तो अध्यक्षले गरेको पार्टी नेतृत्व कस्तो हुन्छ ? उसका कार्यकर्ता कस्ता हुन्छन् ? पार्टीको नाममा गुटबन्दी चलाएर पार्टीकै बद्नाम हुने गुटका नेताले भ्रष्टाचार गर्दा राष्ट्रसेवक र नेता पाल्न विदेशी ऋण लिनुपर्ने कस्तो अर्थतन्त्र देशमा सञ्चालित छ, स्पष्ट भइसक्यो । जनताको अपराध के थियो, जसले जन्मदै ५७ हजार ऋणको भार बोक्नुप¥यो । कम्युनिस्ट पार्टीका लागि यो भन्दा बद्नामी के खोज्नुप¥यो ?
प्रधानमन्त्री केपी ओलीले शासन गरेको दुई वर्ष छ महिना पुग्दैछ । तेस्रो पटक बजेट ल्याइयो तर गरिबीले थलिएको, भोकमरीले पिरोलिएको, रोजगारी गुमाएको जनताले के पायो ? नेकपाको सिद्धान्त, नीति, कार्यक्रम, विचार, पद्धति र शैलीले देशलाई लुटको खानी बनाएर माक्र्स, लेनिन र माओको विचार र सिद्धान्तको बद्नाम गर्ने काम ग¥यो । पद र कुर्सीको मोह ओलीवादको मूल लक्ष्य रहेको छ । उनले गरेका राजनीतिक नियुक्ति र खटाएका मान्छे नेकपाका होइनन् । उनीहरू कोही दलाल छन्, कोही बिचौलिया, कोही सरकारले कालोसूचीमा राखेका कुम्भकर्ण । ओलीको देश बनाउने सपना यही थियो ? हावाको बिजुली, घर–घरमा ग्यासको पाइपलाइन, पानीजहाज, पूर्व–पश्चिम रेलमार्गको योजना कहाँ गए ?
मनपरी बोल्ने, देशको सम्पत्ति आफ्ना दलालहरूको गोजी भर्नेले कोरानाको महामारीमा खटेको जनशक्तिलाई किन झुक्यायो ? के प्रचण्ड, माधव र झलनाथले यस्ता विषय उठाउनु अपराध गरे ? के हो ओम्नी समूह र ईश्वरको साँठगाँठ, किन दिइयो त्यो थामसेर्कुलाई नेपाल ट्रस्टको सम्पत्ति बिनाप्रतिस्पर्धा कम भाडामा ? यती एयर, हिमालयन एयर, तारा एयर, हाई अल्टिच्युट एयरको व्यापारी फाइदामा सरकारको पहिचान वायु सेवा निगमलाई धराशयी बनाउने काम किन हुँदैछ ? प्रधानमन्त्रीले संसद्मा जानकारी गराउनुपर्ला भनेर संसद् अन्त्य गरेका हुन् ? अपराध प्रम ओली र उनको मण्डलीले गर्ने अनि अपजस पार्टीले लिनुपर्ने ? सहमति कार्यान्वयन नगर्नेले किन लिखित सम्झौता गरेको ? एकता जरुरी थिएन भने किन प्रचण्डलाई फसाएको ? बहुमतको प्रधानमन्त्री बन्ने रहर ओलीलाई थियो । उनले विचार, सिद्धान्त र पार्टी केही भनेनन् । समान हैसियतको पार्टीबीचको एकता जनताको चाहना थियो । त्यो पूरा भयो, देशको ठूलो पार्टी नेकपाले स्पष्ट बहुमतको सरकार चलाउन भने सकेन, जनतालाई ऋण थोपरेर कमिसन खान धमाधम नयाँ गाडी किनिँदैछ, कति किनियो । आयोगहरूको आवश्यकता भएर संविधानमा व्यवस्था भयो । संविधानको समेत ख्याल नगर्ने अहङ्कारी स्वभाव प्रममा देखियो । उनका सहयोगी र सल्लाहकारले दिएको सुझाव, सल्लाह यस्तै हो ? जसले आपराधिक माहोल मात्र बढाएको छ । राजाको पक्षमा जनमत बढ्ने काम कम्युनिस्ट सरकारका गलत निर्णय र अपराधजन्य नीति र व्यवहारले गरेका छन् । कस्ता मान्छे नियुक्ति गरिए यो अवधिमा ? प्रम ओली र उनको गुटको पछुवा भयो भने जसले जति अपराध गरे पनि छुट पाउने जनताको बहुदलीय जनवादको लक्ष्य कहिले पूरा हुन्छ र वामदेव गौतम जस्ता भष्मासुरहरूलाई मन्त्री बनाइन्छ ? ओली यो सवालमा मौन छन् । त्यही कारण पार्टीका बैठकहरू टारेका छन् । लुटाहाहरूलाई अहिले संरक्षण गरिएला तर ओलीले अजम्बरी बुटी खाएका छैनन् । कुर्नुपर्छ, गौँडो कुरे हात्तीलाई धाप मार्न पाइन्छ भन्ने उखान हराउने छैन ।